चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कुल गाह्रँस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) ३ दशमलब ४ प्रतिशतमा खुम्चिएको छ । गत असोजको वाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर संकूचित भएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयको अनुसार सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको अािर्थक वृद्धि हाँसिल गर्ने लक्ष्य लिएकामा ३ दशमल ४ प्रतिशत मात्र हाँसिल भएको हो । अर्थतन्त्रमा योजदान गर्ने विभिन्न १८ क्षेत्र मध्ये १७ वटा वृद्धिदर धनात्मक छ भने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१ दशमलब ४ प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्र ६ दशमलब ७ प्रतिशत योगदान छ । पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र ६ दशमलब ३, वित्तिय तथा विमा क्षेत्र ५ दशमलब ७, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५ दशमलब ४ र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५ दशमलब १ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आवको प्रथम त्रैमासिकमा निर्माणजन्य बस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको अनुमान छ । निर्माण क्षेत्र शून्य दशमलब ३ प्रतिशतले नकारात्मक छ । अर्थतन्त्रमा सबै भन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने अनुमान छ । धानलगायत बर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदेबाली र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मुल्य अभिबृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ । समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढी र पहिरोका कारण कृषि क्षेत्रको कुल मुल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्र पहिलो त्रैमासमा शुल्य दशमलब ५ प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ । कृषि तथा व्यापारजन्य बस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको कार्यालयले जनाएको छ ।
समीक्षा अवधिमा औद्योगिक वस्तु उ्रत्पादन क्षेत्रको मुल्य अभिबृद्धि वृद्धिदर २ दशमलब ३, शिक्षा क्षेत्र शुन्य दशमलब ४, स्वास्थ्य क्षेत्र ४ दशमलब १ र घरजग्गा कारोबार क्षेत्र ३ दशमलब १ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
