पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भाषा, सँस्कृति र सम्पदा राष्ट्रको गौरव भएकोले यसलाई जोगाइ राख्नुपर्ने बताउनु भएको छ । पन्ध्रौं नेवाः एकता दिवस कार्यक्रमलाई बुधबार बनेपामा सम्बोधन गर्दै नेपालले विविधताले भरिएको देशका नागरिक नेपाली संसारमा गौरवका साथ आफ्नो पहिचान लिएर अघि बढेको उल्लेख गर्नुभयो । सबै भाषा, सँस्कृति, जातजातिलाई सम्मानजनक व्यवहार जरुरी रहेकोले विभिन्न बहानामा हुने विभेद अस्विकार्य रहेको बताउनुभयो । कार्यक्रममा पुर्वमन्त्री राजेन्द्र श्रेष्ठ, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा दाहाल, वडा नम्बर ७ का वडाअध्यक्ष हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, साहित्यकार मोहन दुवाल, हलि नेवाः गुथीका संस्थापक अध्यक्ष शान्त प्रकाश श्रेष्ठ, अध्यक्ष विनोद महर्जन, सम्पदा अभियान्ता राजाराम तन्दुकार लगायतले नेवारी संस्कृति, सम्पदा र संरक्षणको बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । हलि नेवाः गुथी काभ्रेका अध्यक्ष रामकाजी प्रधानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेवारी संस्कृति झल्कने नृत्य, संगीत प्रस्तुत गरिएको थियो ।
