सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु सम्मेलन – २०८१ गत बुधबार सम्पन्न भएको छ । “मेलम्ची नगर समृद्धिको आधार कृषि, पर्यटन,उद्योग र जलाधार” भन्ने नाराका साथ प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले बिकसित देशहरुले बिकासको नाममा जथाभावी बिनाश गर्नाले पृथ्वीमा नकारात्मक असर परेको बताउनुभयो । उहाँले उद्योग, कलकारखाना, सडक निर्माण लगायतका बिकासका कामहरु गर्दा अनिवार्य रुपमा वातावरणीय प्रभाव मुल्याङकन गर्नुपर्ने भएता पनि ति कुराहरु कागजमै मात्र सिमित हुने र कार्यान्वयन नहुने अवस्थाले पनि झनै समस्या उत्पन्न भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पुर्वमन्त्री शेर बहादुर तामाङले सडक कालोपत्रे भएसँगै गुफाडाँडालाई सुन्दर हरियाली चिया बगान बनाउन समेत सकिने बताउनुभयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अति वृष्टि अना वृष्टि र खाद्य संकटले मानव जिवनमा असर गरेको भन्दै एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न उहाँले मुख्यमन्त्रीलाई आग्रह गर्नुभयोे । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले जलवायु परिवर्तनले रैथाने बालि नास भईरहेको र धेरै बिपत्ती निम्तिएको भनाइ राख्नुभयो । बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले सिन्धुपाल्चोक बिपदग्रस्त जिल्ला भएको भन्दै आफ्नो क्षेत्रमा भएको कार्यप्रगती र सम्पन्न गर्नुपर्ने बिकास आयोजनाका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्रि निमा लामाले जलवायु परिवर्तनका कारण हिमालि क्षेत्रमा बढी असर परेको दाबी गर्नुभयो । बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जलवायु परिवर्तन सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै भावि पुस्ताको जीवन सुरक्षित बनाउन अहिलेका व्यक्तिहरूले काम गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनले गरेका असर र न्युनिकरणका उपायको बारेमा उहाँले जानकारी दिनुभएको थियो । मेलम्ची नगर प्रमुख आइतमान तामाङले जलवायु सम्मेलन मार्फत विश्व समुदायलाई सन्देश दीनुका साथै रोकथाम तथा न्युनीकरणका उपायको विषयमा खोजी गर्ने उल्लेख गर्नुभयो । बिकसित राष्ट्रले उत्सर्जन गरेको कार्वनले नेपाल जस्तो मुलुक पीडित हुन परेकाले ती राष्ट्रबाट क्षतिपूर्ति पाउनु पर्ने, गुफाडाडाँमा २०७५ सालमा पहिलो पटक भएको जलबायु सम्मेलनको दिनलाई राष्ट्रिय जलवायु दिवशको मान्यता दिईनुपर्ने, गुफा डाँडालाई जलवायु अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्नेमा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधानले जोड दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकामा रहेका विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए । बि.स. २०७५ साल पुस १६ गते तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले पहिलो जलबायु सम्मेलनको उद्घाटन गरेसंगै हरेक बर्ष गुफाडाँडामा जलवायु दिवश मनाउदै आईएको छ ।
