भक्तपुर । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम वागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमेः खल’ विजेता बनेको छ । नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै वडा नं. ९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ को ताथली धिमेः खलःले नगद रु. ५० हजारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्राप्त गरेको हो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको ‘तैकाबु गणेश सांस्कृतिक समूह’ले नगद रु.२५ हजार सहित शिल्ड प्रमाण पत्र, धिमय् बाजा, भुछ्या, सिछ्या एक थान पुरस्कारको रूपमा प्राप्त गरेको छ । भक्तपुर नगरपालिकाको ‘नियो फ्युजन बाजा समूह’ले तेश्रो हुँदै नगद रु. १० हजारसहित शिल्ड पुरस्कार, धिमय् बाजा, भुछ्या एक थान प्राप्त गरेको छ ।
चौथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार भने काभ्रेपलाञ्चोक बनेपास्थित ‘देउला बाँसुरी बाजा खल’ले नगद रु. पाँच हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र एक थान धिमय् बाजा प्राप्त गरेको छ । त्यस्तै पाँचौ स्थानमा काभ्रेपलाञ्चोकको बनेपास्थित ‘वाँख्यो दाफा भजन खलः, छैटौंमा काभ्रेपलाञ्चोक पनौतीको ‘लायकु धिमे खलः, सातौंमा मध्यपुरथिमिको ‘शिवा सायमी खलः’, आठौँमा ललितपुरको लुभुस्थित ‘तलेजु बाजा खलः’, नवौंमा काठमाडौंको ‘बालकुमारी धिमे खलः’ र दशौँ स्थानमा ताथली सौडोलस्थित.‘सौडोल सांस्कृतिक बाजा खल’ परेको छ । सो कार्यक्रमको उद्घाटन भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गरेका थिए भने पुरस्कार वितरण भक्तपुर क्षेत्र नं. २ का सङ्घीय सांसद दुर्लभ थापाले गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा सांसद सुवालले राजनीतिले निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्न सके मात्रै देश बन्ने बताए । उनले कक्षा १२ सकिने बित्तिकै युवा पंक्ति विदशिने र देशमा अशक्त, बुढापाकामात्रै रहने अवस्था आउने खतरा बढेकाले देशको राजनीति सुधार गर्नका लागि असल संस्कारको जरुरी रहेकोमा जोड दिए । उनले स्थानीय सरकारको प्रभावकारी कामले सिंहदरबारले सिक्न सक्ने अवस्था बनाउनु पर्ने भन्दै परम्परागत बाजा, कला, संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको समापन एवम् पुरस्कार वितरण समारोहमा भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद दूर्लभ थापाले विजयी टिमहरुलाई पुरस्कार प्रदान गर्दै नगरपालिकाले २०८२ साल बैशाखदेखि सञ्चालन गर्न लागेको नगरकोट भ्रमण वर्ष सफल पार्न यो प्रतियोगिताले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताए । कार्यक्रममा नगर प्रमुख एवं कार्यक्रमका सभापति जीवन खत्रीले ऐतिहासिक कार्य सम्पन्न गरेको बताउनु भयो ।
कार्यक्रममा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक सम्पदाको धनी चाँगुनारायण नगरपालिकाले संस्कृति संरक्षणका लागि गरेको धिमय् बाजा प्रतियोगिताको प्रशंसा गर्दै सम्पदा संरक्षण र प्रवद्र्धन नै पर्यटनको आधार भएको चर्चा गरे । सो प्रतियोगितामा वागमती प्रदेश भित्रका भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायतका विभिन्न जिल्लाका विभिन्न पालिकाहरु गरि कूल ५५ वटा समूहको सहभागिता रहेको वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले जानकारी दिँदै वागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगिताले समग्र चाँगुनारायण नगरपालिकामा रहेका मूर्त–अमूर्त सम्पदा जगेर्ना गर्न सहयोग पुग्ने बताए ।
समारोहमा चाँगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष सोम प्रधान, ५ का जयन्द्र खड्का, वडा नं. ८ का वडा अध्यक्ष जनक खत्री, वडा नं. ९ का वडा अध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश त्यात, कार्यपालिका सदस्यद्वय कमला गिरि र सीता दाहाललगायतले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगिताको निर्णायक मण्डलमा धिमय् बाजा गुरु विष्णुबहादुर मानन्धर संयोजक रहेका थिए भने सदस्यहरुमा प्रा. डा पुरुषोत्तमलोचन श्रेष्ठ, शेषनारायण महर्जन, रविन्सन श्रेष्ठ र सुनेश श्रेष्ठ रहेका थिए ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापा, प्रदेश सांसदहरु, नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई, १ देखि ९ वटै वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरुलगायत विभिन्न संघसंस्थाका जनप्रतिनिधिहरु समेत सहभागी थिए । कार्यक्रममा स्थानीय घरेलु उत्पादनको प्रर्दशन समेत गरिएको थियो । कार्यक्रम स्थलमा राखिएको २० वटा स्टलमा नेवारी परिकार, खाद्य परिकार, हाते बुनाई, हस्त कलाका सामग्री, माटोको मर्तिकलालगायतका विभिन्न सामग्रीहरु प्रर्दशन एवं बिक्री समेत गरिएको थियो ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न सङ्घसंस्थाका साथै व्यक्तिहरुलाई सो अवसरमा प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । सो कार्यक्रमको संचालन मिस नेवा नितु डंगोल गरेका थिए ।
