मानवता तथा यथार्थवादी सहित्यकर्मी
काभ्रेली साहित्यिक फाँटमा कवि, नियात्राकार, कथाकार आदिका रूपमा चिनिनु भएका साहित्यकार हुन् प्राचीन नगरी पनौतीका तुयुकाजी ताम्राकारद्वारा लिखित पुस्तकहरु मध्ये, ज्ञानी, बालकथा संग्रह हो । सरल भाषामा लेखिएको, ज्ञानी, बाल कथा संग्रहभित्रका सबै कथाहरु बोधगम्य हुनुका साथै बालबालिकाहरुका लागि सकारनत्मक एवम् नैतिक सन्देशमूलक छन् ।
ज्ञानी बालबालिकाहरु खेल्न मात्र होइन घरका अभिभावकहरुलाई घरका काममा सघाउ पनि गर्छन् । गरिबी सबैका लागि अभिशाप हुन्छ भन्ने बुझ्छन् र फजुल खर्च गर्दैनन् भन्ने आशय, ज्ञानी, कथाबाट बुझिन्छ । आफ्नै सन्तान पनि स्वार्थी र विवेक हीन भए भने तिनीहरु आमाबाुलाई होइन पैसालाई माया गर्छन् । सम्पत्तिका लागि अपमान गर्छन् । यसले गर्दा बाबु आमालाई ठूलो पिर पर्छ भन्ने सङ्केत संग्रहकै लामो कथा नियतिले दिएको छ । त्यसैगरी लगनशील भई गरेको कामको कदर सबैले गर्छन्, आफ्नो कर्तव्य पूरा गर्ने मानिस सम्मानयोग्य हुन्छन् भन्ने संस्कारको विकास बालबालिकामा सानैदेखि गर्नुपर्दछ भन्ने सन्देश, मङ्गले मालीले, दिएकोछ । बालबालिकाहरुलाई बढी नियन्त्रण गर्दा उनीहरुमा नकरात्मक प्रभाव पर्नसक्छ भन्ने कुरा बुद्धिमान् आमा बाबुले राम्ररी बुझ्नुपर्छ । परिश्रमीका भागमा माछा र मासु अल्छीका आाँखामा आाँसु भन्ने कुराको तात्पर्य राम्ररी बुझाइदिनुपर्छ भन्ने झल्को, परी, (पैसा) कथाले दिएको छ । त्यसै गरि विपतमा परेको वा अभाव ग्रस्त जो कोहीलाई पनि केही दिएर उसलाई बाँच्न सहयोग गर्नु मानवीय कर्तव्य हो, मानवता हो भन्ने कुरा बालबालिकालाई बुझाउनुपर्छ भन्ने जानकारी, भोकमरी, कथाले दिएको छ । प्राणीका लागि सबैभन्दा महत्वपूर्ण कुरा नै खाना हो । भोकले मर्ने भएपछि बाँच्नका निम्ति उसले घृणित काम पनि गर्नसक्छ, यस्तो वास्तविकता बुझ्ने विवेकको विकास सबैमा हुनुपर्छ भन्ने भाव, बुद्धिमान काग, कथाले दिएको छ ।
चाहे जुनसुकै प्राणी किन नहोस् सबैको जीवन बराबर हुन्छ त्यसैले अरुको हत्या गरि आफ्नो पेट पाल्नु निन्दनीय काम हो भन्ने जानकारी बालबालिकाले पाउनुपर्छ भन्ने सन्देश, सिकारी, कथाले दिएको पाइन्छ । धर्मराजको न्याय, कथा काल्पनिक यमराजसँग गाँसिए पनि यथार्थपरक छ । यसमा मानिसले आफ्नो पहिचान जातीय, पदीय जस्ता आडम्बरयुक्त नभई मानवीय पहिचान दिने संस्कारको विकास बालबालिकमा सानैदेखि हुनुपर्छ भन्ने आशय प्रकट गरेको छ । त्यस्तै आफ्नो ठाउँमा कमजोर पनि शक्तिशाली हुन्छ । अर्काको ठाउँमा पुगेपछि त्यहाँको पनि सम्मान गर्नुपर्छ भन्ने भाव, कालुराम र राजाले, दिएको छ भने रक्सी, चुरोट जस्ता नशालु पदार्थको कुलतले मानिसको अकाल मृत्यु हुनसक्छ, परिवारको विचल्ली हुनसक्छ भन्ने कुराका साथै मृतकका नाममा उसलाई मनपर्ने वस्तुसँगै पिण्डदान गर्नुभन्दा मृतकका नाममा केही काम गरिदिएर पुण्यदान गर्नु तर्कसँगत छ भन्ने आशय चाहिँ, रक्सीदान, कथाले दिशएको छ ।
ज्ञानीहरु अरुलाई सहयोग गर्नपाउँदा औधी खुसी हुन्छन् । जसले पानी प्यासले मुख प्याक प्याक परेकालाई पानी खान दिएर सेवा गर्छ त्यसलाई सबैले माया गर्छन् । प्यासाको प्यास बुझाउनु मानवीय कर्तव्य हो भन्ने ज्ञान सानैदेखि हुनुपर्छ भन्ने भाव, प्यास, कथाले दिएको छ । साउँभन्दा ब्याजको माया भनेझैँ हजुर बाआामाई नातिनातिनाको बढी माया हुन्छ । त्यो कुरा बालबालिकालाई बुझाइदिनुपर्छ । मृतकलाई पिण्डदान होइन पुण्यदान गर्नुपर्छ भन्ने आशय, तर्पण, कथामा पनि व्यक्तिएको छ । त्यसै गरि कुनै पनि समस्या समाधानको उपाय रिसले होइन बुद्धिले खोज्नुपर्छ भन्ने, हेरेको मूल्य, कथाले सङ्केत गरेको छ भने कहिले काहीँ आफूले कुनै गल्ती नै नगर्दा पनि परिबन्दले गर्दा सजाय भोग्नुपर्छ भन्ने भाव, मुक्त प्रेम, कथाले बताउँन खोजेको छ ।
यसप्रकार बालकथाकार तुयुकाजी ताम्राकरको, ज्ञानी, कथा संग्रहभित्रका सबै चौधवटै कथाहरु बालसुलभ छन्,मर्मस्पर्शी छन् र पठनयोग्य छन् । कथाकार ताम्राकारको कलम यसरी अझै परिष्कृत रूपमा चलिरहोस् यही शुभकामना छ ।
