बनेपा÷सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीका सिद्धान्त, ऐन, नियम, कानून परिपालना भए कुनै पनि सहकारीमा समस्या नआउने धारणा राख्नुभयो । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं बार्षिक साधारणसभालाई बनेपामा सम्बोधन गर्दै उहाँले सहकारीमा नीति, विधी बसाल्नकै कारण सहकारी अध्याधेश आएको भनाइराख्नु भयो । ‘मन्त्रीपरिषद्बाट सिफारिस भएको अध्याधेश राष्ट्रपतिबाट प्रमाणिकरण भइ राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन आउँछ, त्यसपछि नै यसका बारेमा टिप्पणी गर्नु उपयुक्त होला,’ उहाँले भन्नुभयो । ‘नीति, विधी बसाल्नकै लागि अध्यादेश आएको हो, कर्जा सूचना केन्द्र, असुली न्याधिकरण लगायतका व्यवस्था छन् ।’ उहाँले नियामक निकायले अनुगमन नगर्दा समस्या आएको तर्क गर्ने सहकारीकर्मीले नै अनुगमन थालेपछि कोकोहोलो मच्याउनु ठिक नहुने धारणा राख्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले केही सहकारीमा समस्याको चाङ रहेको भन्दै त्यसलाई निमिटपान्न गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपालले सहकारीमा तत्काल सुधार गर्नुपर्ने समस्या सम्बोधन अध्यादेशले गर्ने भन्दै सबैको सहकार्यले सहकारी क्षेत्र राम्रो बनाउनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक सदस्य पार्वती कार्की, बाग्मती प्रदेश सहकारी संघका कोषाध्यक्ष रहेका जिल्ला बचत संघका सल्लाहकार शम्भुलाल श्रेष्ठ, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत संघ काभ्रेका सल्लाहकार इन्द्रप्रसाद अधिकारी, अध्यक्ष उदयराम कायस्थ लगायत सहकारी क्षेत्रका सवालमा आ–आफ्नो मन्तव्य राख्नुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका सहकारी शाखा प्रमुख दिनेशकुमार पोखरेल, उत्कृष्ट व्यवस्थापकको रुपमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मनोज रायमाझी, उत्कृष्ट कारोवार गर्ने खानीखोला गाउँपालिकामा रहेको सुर्यमुखी सहकारी, बनेपामा रहेको भक्तेश्वरी नारी चेतना सिपमुलक सहकारी संस्था र माईक्रो श्रमिक साकोस बचत तथा ऋण सहकारी संस्था बनेपालाई सम्मान गरिएको छ ।
संघले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने नवकान्तिपुर, सामुदायिक, प्रभात, सुडेश्वर, मनकामना, हाम्रो सेवा, लक्ष्मी महिला, नारी जागरण, महिला आधारशिला बचत तथा ऋण सहकारी संस्थालाई प्रशंशा पत्रसहित सम्मान गरिएको थियो । सचिव सुरेन्द्रप्रसाद पौडेल, कोषाध्यक्ष जीवन श्रेष्ठ, लेखा समितिका तर्फबाट सदस्य पुष्पराज कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन सभाले पास गरको छ । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा महिला उपाध्यक्ष निर्मला श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आ.व. ०८०÷०८१ मा बचत निक्षेप १ अर्ब २९ करोड ७८ लाख ६१ हजार ४ सय ८६ दशमलब ६१, ऋण लगानी ४७ करोड २६ लाख ९ हजार ४ सय ९७ दशमलब ६१, शेयर पूँजी ८ करोड २ लाख ९३ हजार, वित्तीय लगानी ५९ करोड र जगेडा तथा अन्य कोषहरु ८ करोड ९२ लाख ६७ हजार ४ सय ६१ दशमलब ५१ रहेको छ । २ सय ४३ प्रारम्भीक संस्था आवद्ध रहेको बचत संघमा हाल १ सय ३५ ले नविकरण गरेका थिए । सहकारी संस्थाको सञ्चालकहरु, कर्मचारीको क्षमता अभिवृद्धि, संस्थागत विकास र स्थायीत्वको लागि तालिम दिदै आएको कुरा प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले बताउनुभयो ।
