पनौती नगरपालिकाको १५ औँ नगरसभा विहिबार सम्पन्न भएको छ । पन्ध्रौ नगरसभाबाट आर्थिक वर्ष २०८१÷८२ का लागि १ अर्ब ६० करोडको बजेटमा ४६ करोड बराबरका योजना कटौती गरी १ अर्व १४ करोडको संशोधित बजेट पारित गरेको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिनुभयो । आन्तरिक श्रोततर्फको आय अनुमान ५७ करोड ७३ लाख ७५ हजार घटाइ विपदजन्य क्रियाकलापहरूलाइ सम्वोधन गर्ने गरी १९ करोड ७३ लाख ७५ हजार बराबरका कार्यक्रमहरु सभाले पारित गरेको छ । विपत्तिपछि रोकिएका खानीहरु नविकरण भएकाहरुलाई सञ्चालनको अनुमति दिए सँगै नगरपालिकाले आन्तरिक रुपमा राजश्व उठाउन सुरु गरेको छ । सभामा उपप्रमुख गिता वञ्जाराले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को लागि स्विकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्बन्धी प्रस्ताव, वडा अध्यक्ष जयकुमार तामाङले प्रस्ताव गरेको आर्थिक ऐन, २०८१ संशोधनसम्बन्धी प्रस्ताव, वडा अध्यक्ष पुरुषोतम अधिकारीले प्रस्तुत गरेको १५ औं नगर सभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरुको अनुमोदन सम्वन्धी प्रस्ताव नगर सभाले पारित गरेको छ । नगरसभामा १२ वटै वडाका अध्यक्षले आ–आफ्नो धारणा राखेका थिए । सभामा वडा अध्यक्ष मोहन बहादुर भण्डारीले धन्यबाद प्रस्ताब पेस गर्नु भएको थियो । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३ करोड ११ लाख ६७ हजार ४ सय ९७ रुपैँया जम्मा भएकोमा १ करोड ८० लाख ९६ हजार ३ सय ५ खर्च भएको छ । संघ, प्रदेश, काठमाण्डौँ महानगरपालिका तथा विभिन्न व्यक्ति तथा निकायबाट प्राप्त रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको थियो ।
