मण्डनदेउपुर नगरपालिकाको १६ औँ नगर अधिवेशन नगरप्रमुख टोकवहादुर वाईबाको सभापतित्वमा विहीबार सम्पन्न गरेको छ । चालु आ.व. ०८१÷०८२ को १ अर्ब ५ करोड बजेट विनियोजन गरेको नगरले ५ महिना वितिसक्दा चालु खर्च १२ प्रतिशत गरेको छ भने पूर्वाधार विकास तर्फ कुनै पनि योजनामा बजेट खर्च गर्न सकेको छैन । गत असोज देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण कार्यको प्रारम्भ हुन नसकेको नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपालले बताउनुभयो । पूर्वाधार विकास तर्फको बजेट कटौति नगरी कार्यक्रमहरुको बजेट कटौती गरेर २ करोड ५० लाख विपद् कोषमा थप गरेको नगर उपप्रमुख नेपालले उल्लेख गर्नुभयो । कुल विनियोजित बजेटमा ४७ दशमलब ५३ प्रतिशत बजेट विकास निर्माणमा विनियोजन गरेको नगर प्रवक्ता पुरुषोतम बजगाइले बताउनुभयो । गत साताबाट नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतकोरुपमा सुरज श्रेष्ठ आउनु भएसँगै नगरले निर्धारण गरेको उद्देश्य अनुरुप मण्डनदेउपुर नगर कृषि र पर्यटन क्षेत्रको विकासले अव गति लिने कुरा नगर प्रवक्ता पुरुषोतम बजगाईले बताउनुभयो ।
