१५ औँ नेवाः एकता दिवस यहि पौष २४ गते बुधबार बनेपामा हुने भएको छ । हलिं नेवाः गुथि बनेपा शाखाले आयोजना गर्न लागेको नेवाः एकता दिवसमा विविध सांस्कृतिक प्रस्तुती हुने शाखा अध्यक्ष रामकाजी प्रधानले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिनुभयो । नेवारी समुदायलाई एकत्रित गरि सुन्दर, सभ्य, सम्पन्न बनेपा बनाउने उद्देश्यले आयोजना गर्न लागिएको दिवसमा नालाको बाजा, पनौतीको बाजा, बनेपाको धिमे बाजा, बासुरी बाजा, नायो बाजा, कुमारी नाच, कलाली नाच, लाखे नाच, लिक्ववया नाच सहितको झाकी प्रदर्शन गरिने उपाध्यक्ष प्रतिमन श्रेष्ठले जानकारी दिनु्भयो । ४ लाख ५० हजार खर्च हुुने अनुमान गरिएको कार्यक्रममा बनेपा नगरपालिकाले सहयोग गर्ने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा हलिं नेवाः गुथिका केन्द्रिय सदस्य अक्कलदास महर्जनले हलिं नेवाः गुथिको काभ्रेमा १७ वटा शाखा रहेको र देश विदेशमा गरी जम्मा १ सय २० वटा शाखाहरु रहेको जानकारी दिनुभयो । नेवारी भाषा, कला, संस्कृति लोप हुनबाट जोगाउनुका साथै यसलाई उत्थान गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको हलिं नेवाः गुथि काभ्रे मिसा कचा, भोटंको अध्यक्ष विनु कर्मचार्यको भनाई रहेको छ ।
