पनौती । काभ्रे सेवा समाज (कासेस)को संयोजनमा पनौती-४, बालोद्धार माध्यमिक विद्यालयस्थित दृष्टिविहीन समुदाय र विद्यार्थीहरुको परोपकारी संस्था ‘रियल नेपाल’ मा आश्रित दृष्टिविहीन विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीका लागि खानेपानीको व्यवस्था भएको छ । कासेसले अमेरिकाको क्यालिफोर्नियास्थित सन्नी सगरमाथा समाजसँग मिलेर दृष्टिविहीनहरुका लागि खानेपानीको व्यवस्था गरिदिएको हो । बालोद्धार माध्यमिक विद्यालयले इनारका लागि जग्गा उपलब्ध गराएका थियो ।
‘ सन्नी सगरमाथाका संस्थापक अध्यक्ष इश्वर सापकोटा गृहथलो पनौती आउनु भएको बेला दृष्टिविहीन विद्यार्थीहरुको कष्टका बारेमा जानकारी गराएको थिएँ । उहाँले समाजका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउनु भयो भने नपुग रकम म आफैंले पनि थपेर खानेपानीको प्रबन्ध मिलाउन सक्यौं’, समाजका अध्यक्ष नारायण महत क्षेत्रीले भने । बालोद्धार माविको नयाँ भवन एपाटारस्थित इनारबाट करीब १ सय २५ मीटरको दूरीमा रहेको पुरानो स्कूलसम्म पाइपलाइनमार्फत खानेपानी पुर्याइएको छ । रियल नेपालले खानेपानी उपभोग गरेपछि विद्यालयले उपभोग गर्ने व्यवस्थासमेत मिलाइएको हो ।
पनौतीका नगर प्रमुख भीम न्यौपानले सो खानेपानी प्रणालीको शुभारम्भ गर्नुहुँदै भन्नुभयो, ‘पनौती नगरपालिकाले समावेशी र सहभागितामूलक योजना तर्जुमाका क्रममा रियल नेपालजस्तो फरक शारीरिक क्षमता भएका व्यक्तिहरुको पनि सहभागिता हुनु पर्छ भनेर वडा नं ४ र बालोद्धार स्कूलसँग समन्वय गरि संस्थालाई रहने व्यवस्था मिलाएको हो । अब चाँडै नै जग्गा व्यवस्थापनसहित कम्तीमा ६ कोठाको भवन बनाएर दृष्टिविहीन विद्यार्थीहरुलाई बस्न र पढ्नका लागि अझ सुविधा उपलब्ध गराउने योजना बताए ।
सो अवसरमा सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष इश्वर सापकोटाले कोभिड-१९ को दोस्रो लहर फैलिइरहेका बखत जन्मभूमि आएका बखत दृष्टिविहीनहरुले खानेपानीजस्तो आधारभूत आवश्यकताबाट बञ्चित भएको सुनेर तत्काल खानेपानीका लागि समाजको तर्फबाट सहयोग गरको बताउनु भयो । उहाँले भन्नुभयो, ‘२०७२ को विनासकारी भुकम्पमा पनि गृह जिल्ला आएर तत्काल राहतलगायतका सहयोग गरेका बताए ।
समाजका आजीवन सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्य, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछे, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, रियल नेपालका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद धिताल, पनौती वडा नं ४ का वडा अध्यक्ष बुद्धसिंह थापा, बालोद्वार मा.वि.का प्रधानाध्यापक बासुदेव बञ्जार लगाएतको आतिथ्यता रहेको थियो ।
