पनौती÷ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिनुपर्ने बिचार व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको एतिहासिक नगर पनौतीमा सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । कर्यक्रममा मन्त्री पाण्डेले साहित्यकार एवं संस्कृतिकर्मी सुर्यप्रसाद लाकोजूद्धारा लिखित पनौतीका केही जात्रापर्वहरुको तेस्रो संस्करण लोकार्पण गर्नु भएको हो । सोही कार्यक्रममा समाजसेवी महेश कर्माचार्य, प्रेमबहादुर महाजू र इन्द्रकुमारी खड्कालाई सम्मान पत्र, दोसल्ला र मालाले सम्मान समेत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा समालोचक, लेखक तथा चिन्तक मधु आचार्यले पुस्तकमा संस्कृति र जात्रापर्वको सामान्य वर्णन मात्र नरहेको त्यसको वैज्ञानिक विश्लेषण पनि रहेकोले पुस्तक पठनीय रहेको बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष तथा पूर्व सांसद शिव हुमागाई, प्रदेश शभा साँसद तीर्थ लामा, गोवर्धन कर्माचार्य, शम्भुलाल श्रेष्ठ, विजय कर्माचार्य लगायतले मन्तव्य पोख्नुभएको थियो । कार्यक्रम सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको थियो ।
पुस्तकमा पनौती नगरपालिकाभित्र प्रचलनमा रहेका र लोप भइसकेका विभिन्न जात्रापर्वहरुको बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई पनौतीको परिचय र ऐतिहासिक पृष्ठभूमि, पनौतीका केही जात्राहरु, पनौतीका केही उल्लेखनीय पर्वहरु, पनौतीका प्रचलित केही उल्लेखनीय नाचहरु र हाल प्रचलनमा नरहेका केहि जात्रापर्वहरु गरि पाँच खण्डमा विभाजन गरिएको छ ।
