बनेपा÷आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले आयुर्वेद सेवाको प्रर्वद्धन र सेवा विस्तार गर्ने उदेश्यले संचारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । सेवाग्राहिहरुको बढ्दो विश्वासलाई अझै फराकिलो बनाउन आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले खेल्नु पर्ने भूमिकाका बारेमा संचारकर्मीहरुले राय सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आयुर्वेद सेवा प्रभावकारी बनाउँदा रोगव्याधि लाग्न नियन्त्रण हुने र नागरिकहरु लाभान्वित हुने बताउनु भयो । स्थानीय तहसँगको समन्वयमा सेवालाई अझै प्रभावकारी बनाउन, सेवा नभएका स्थानमा घुम्ति सेवा संचालन गर्न र नागरिकहरुका गुनासालाई निराकाण गर्न अनुरोध गर्नुभयो । जिल्ला स्थित आयुर्वेद तथा बैकिल्पक चिकित्सालयका प्रमुख डा.अर्जुन उपाध्यायले सेवा, सेवाका प्रकार र गुणस्तर, आवश्यकता तथा भएका कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । सरकारले अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बजेट कटौती गरिसकेको, बर्षात तथा विपत्तिका कारण थप बजेट कटौतीमा पारेको र केहि महत्वपूर्ण कार्यक्रमहरु ओझेलमा परेको भए पनि नागरिकहरुलाई सेवा प्रवाहमा अझै सक्रियताका साथ कार्यालयले समन्वय गरिरहेको डा. अर्जुन उपाध्यायले उल्येख गर्नुभयो । कार्यक्रममा बरिष्ठ बैद्य जानुका भट्टराईले योग र आयुर्वेदका अभ्यास तथा कृयाकलापहरुलाई दैनिक जीवनमा प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले आयुर्वेद दैनिक जीवनमा उपयोग गर्नेगरी कार्य अधि बढाउनु पर्ने बताउनु भयो । कार्यक्रम कविराज निरिक्षक प्रताप लामाले संचालन गरेका थिए । कार्यक्रममा जिल्लामा कार्यरत संचारकर्मीहरुले विभिन्न विषयमा राखेका जिज्ञासाका बारेमा प्रमुख उपाध्यायाले प्रस्ट पार्नुभएको थियो । जिल्लामा ४६ हजार ३ सयले गत वर्ष सेवा लिएकोमा चालु आर्थिक वर्षमा ३१ हजार ७ सय २१ ले आयुर्वेद सेवा लिएको जनाइएको छ । हालसम्म खानीखोला र महाभारत गाउँपालिकामा आयुर्वेदको सेवा अभैm पुगेको छैन ।
