IMG-LOGO

स्थानीय तहको उपनिर्वाचनले दिएको सन्देश

 मंगल, मंसिर २५, २०८१  - नरेन्द्रजंग पिटर

     उप-चुनाव सकियो, बहस नयाँ शिराबाट सुरु भयो । संकेत सन्देश हुन्छ । सन्देश बहुआयमिक हुन्छन् । दूरगामी असर राख्छन् । नजिर बन्छन् । सबै राजनीतिक दलका दर्शन र सिद्धान्तको अन्त्य भए पनि अस्तित्वमा रहँदै आएका ठूला दलहरू नै एकापसमा विलय भएको रुकुम पहिलो घटना हो । के यो दल अन्तको सुरु हो ? हृदयेश त्रिपाठीले एमालेसँग अभ्यास गरे पनि उनले त्यति असर छाड्न सक्दैनथे । विगत साक्षी छ- गठबन्धन गर्दा एकापसमा चाटाचाट गर्दै भजन गाउने तर विवाद हुनेबित्तिकै एकार्काको हुर्मत उतार्दै दोहोलो काढ्ने नेपाली राजनीतिक संस्कृति नै बन्यो ।

     एमाले महासचिव शंकर पोखरेल बहुदलीय व्यवस्थामा दुईदलीय व्यवस्थाको वकालत गर्छन् । त्यसैको अभ्यास सरकार र रुकुम अभ्यास थियो । तीन दल-कांग्रेस, एमाले र माओवादी नै मुख्य प्रतिस्पर्धी भएको चुनावी परिणामले सन्देश दियो कि पोखरेल डक्ट्रिन अनुमोदन भएन ।

     रुकुमस्थित उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा संस्थागत निणर्यमा एमालेले कंग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धा गर्‍यो । गठबन्धन हुनु सामान्य कुरा हो । मुख्य प्रतिद्वन्द्वी विरुद्ध विचार र व्यवहारसँग नजिकका साझेदार खोजिन्छ नै । दल बदल्नु अब सामान्य विषय बन्यो, तर आधिकारिक उम्मेदवारले फरक दलको चुनाव चिह्नमा प्रतिस्पर्धा गर्नुले भने धेरै प्रश्न ओइरिए ।

     काठमाडौं-१६ भने नेपाली राजनीतिलाई नयाँ आयाम दिने कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको निवास रहेको क्षेत्र हो । जहाँबाट गणेशमान ७ फागुन २०१५ बाट प्रारम्भ भएको पहिलो संसदीय निर्वाचनमा नेकपाका तत्कालीन नेता पुष्पलाललाई पराजित गरी विजयी भएका थिए । तिनताकाको १ सय ९ निर्वाचन क्षेत्रमध्ये यो १ नम्बर क्षेत्र थियो । चाक्सीबारीको अहम् भूमिका, कांग्रेस उप-सभापति एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहको गृह वार्डमा कांग्रेस पराजित भयो । भोट ट्रान्सफर भए । कांग्रेसको गढ मानिने मोरङमा पनि पराजय व्यहोर्नु पर्‍यो । उप-चुनावको मत संख्यामा कांग्रेस पहिलो, दोस्रोमा माओवादी र तेस्रोमा एमाले रहन पुगे ।

     हरेक कार्यको औचित्य सावित गर्न तथ्य आवश्यक पर्छ । माओवादी गढ भनेर उसको विरुद्ध शान्ति सम्झौताका पक्षधर सात ठूला दलमध्येका प्रमुख प्रमुख दुई दल एक हुनु भनेको माओवादीहरूले ुजनयुद्धु बिर्सिए पनि विपक्षले अझै बिर्सेको छैन भन्ने भयो । हुकुमको तामेल गर्ने अनुशासित मतदाताले दुवै दलले जित्ने (विन-विन) सिद्धान्त लागू गरून् भन्ने अपेक्षा थियो । त्यसलाई प्रमुख विरोधी हराएर राष्ट्रिय सन्देश दिने वाध्यताको सम्झौता भनियो । हुन त अगाडि आएका समस्या र चुनौतीहरूको सामना कुनै लिखत राजनीतिशास्त्रले तय गर्दैन, राजनीतिक कला र परिस्थिति हेरेर निणर्य लिने कला र क्षमतामा भर पर्छ ।

     कांग्रेस र एमालेमा शान्ति सम्झौता गर्दाको मूल नेतृत्व अहिले ती दलमा ‘सुप्रिमो’ मा छैनन् । घाउ निको भए पनि खत भने रहिरहन्छ नै, तुष कायमै देखियो । माओवादी फेरिएर संसदीय व्यवस्था स्वीकारे पनि उसलाई कांग्रेस र एमालेले छोइछिटो गर्न छाडेनन् ।  कांग्रेस सभापति शेरबहादुर देउवा मौन खेलाडी हुन् । गठबन्धनलाई दबाबमा राखेर आफ्ना नीति लागू गराउँछन् भने राजनीतिक चेसका चतुर खेलाडी प्रधानमन्त्री केपी शर्मा ओली सोचेर नभई घोचेर बोल्ने इखालु नेता हुन् । उपयोगवादका सिद्धहस्त ओली प्रयोगवादी भएकाले नयाँ-नयाँ न्यारेटिभ सिर्जना गरिरहन्छन् । समाजसँग कुशल संवाद गर्न सक्षम प्रधानमन्त्री ओलीको कार्यकर्ता संरक्षण नै शक्तिको मूल स्रोत हो ।

     प्रधानमन्त्री ओलीका निणर्य र भूमिका नियाल्दा अमेरिकी लेखक रबर्ट ग्रीनको प्रसिद्ध पुस्तक ‘द फोर्टी अइट लज अफ पावर (शक्तिका ४८ नियम) झल्किन्छ । ग्रीनले शक्ति प्राप्त गर्न, कायम राख्न र प्रयोग गर्नका लागि शक्तिका ४८ नियमहरू अघि सारे । ग्रीन भन्छन्, ‘कहिल््यै मालिकलाई ओझेलमा नपार्नु होस्, साथीहरूलाई धेरै विश्वास नगर्नु, शत्रुलाई प्रयोग गर्नू, आफ्ना उद्देश्यहरू लुकाउनू,  सधैँभन्दा कम कुरा गर्नू, प्रतिष्ठा सबै कुरा हो- जोगाउन जुन उपाट रचे पनि जायज हुन्छ । ध्यान आकर्षित गर्न कुनै पनि मूल््यमा खडा हुनु अरुको कामको पनि श्रेय लिन नचुक्नु, अरुका निणर्यमा पनि आफू हावी हुनु हो ।

     एमाले अध्यक्ष ओलीसँग असरल्ल समस्या छन् । जो जति माथि उठ्छ उसका समस्या पनि त्यत्तिकै ठूला हुन्छन् । अध्यादेश ल्याएर अन्य दल फुटाउँदै ठूलो दल बन्ने योजना ध्वस्त भए पनि कांग्रेसलाई खुसी पार्न उनी बाध्य छन् । मीनभवन प्रकरणले रक्षात्मक बनेको एमालेलाई कम्बोडिया प्रकरण (हल्लै पनि हुन सक्ला) ले स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुर्‍यायो ।

     पहिलाका विश्वासपात्र रवि लामिछाने र दुर्गा प्रसाईंले सडकमा भिड उतारेपछि जवाफ फर्काउन प्रधानमन्त्री स्वयम् सडकमा उत्रिनुपर्‍यो । आफन्तका भेषमा रहेका शत्रु र विरोधीको पङ्क्तिमा रहेका आफन्त चिन्न नसक्दा लामिछाने र प्रसाईंहरूलाई प्रश्रय दिएकोमा पछुताउमा परे । परिस्थितिले मान्छे, समूह वा दललाई जता पनि धकेलिदिन सक्छ । जब प्रतिक्रियाले निणर्य लिइन्छ, डर निणर्यका कारण बन्छन् तब त्यसको दीर्घकालीन प्रभाव के पर्छ भन्ने ध्यान दिइँदैन ।

     समाजको चेतना र भूमिकाको निर्देशन गर्ने नेतृत्वले समकालीन सोचभन्दा माथि त उठ्नैपर्छ, तर फर्केर धर्तीमा फर्कनुपर्छ भनी धेरै लहडी सोच पनि बनाउन हुँदैन । प्रधानमन्त्री कविता नलेख्ने महाकवि भएकाले कल्पनाको चित्रकारीका कैयौँ अवस्तुवादी घोषणाले पनि उनलाई विश्वासको संकटमा पारिदियो ।

     नेपाली राजनीतिको समग्रता नियाल्ने हो भने कठिन समय र जटिल लोकतान्त्रिक व्यवस्थामा सामुदायिक क्षमता र विवेकले मात्रै नैतिक बल र सिर्जनात्मकता सत्यापित गर्छ । तर, घृणालाई राजनीतिक हतियार बनाएर सत्ता सिँढी उक्लिन सके पनि सधैँ सोही अवस्थामा टिकिरहन सकिन्न । आफ्नै शक्ति सुरक्षित गर्नु पनि सत्ता शेयर गर्नुपर्छ । शक्ति शेयरिङ गरे त्यही शक्ति प्रयोग गरेर प्रतिस्पर्धी बन्न सकिन्छ भन्ने भयमुक्त भए मात्र अरुबाट हार्दिक सहयोग पाउन सकिन्छ ।

     राजनीति व्यवसाय बनेपछि अनुशासित कार्यकर्ताले पनि आफ्नो हैसियत जोगाउन स्वःनिणर्य लिन सक्दैनन् । संगठन नेतृत्वदायी अंग नबनेर साक्षी किनाराका सदर भएपछि नेतृत्वका हरेक कामलाई ताली बजाउनु र विरोधीका हरेक तथ्यपूणर् तार्किक विचारको पनि उछित्तो काढ्नुपर्ने हुन्छ । विवेक प्रयोग गर्न सक्दैनन् । नेताको अपराध, कुकर्म, अज्ञानताको मन, वचन र कर्मले समर्थन गर्नुपर्ने हुँदा नागरिक अधिकार पनि कार्यकर्ताले गुमाउँछन् । भिन्न मत जाहेर गर्नेलाई अराजक भनिँदै अनुशासनको डन्डा हानेर पाखा लगाइन्छ । शत्रुलाई ध्वस्त गर्नुपर्छ नकि क्षमा दिनु हुन्न भन्ने मान्यता क्याकियाबेलियन आदर्श हो । मान्छेका स्वभाव खराबै हुन्छन् । स्वार्थी हुन्छन् । असुरक्षाका लागि चिन्तत भएकाले सत्ता पाउन र सुरक्षाका लागि स्वार्थसिद्ध गर्न शक्तिशाली भए जे पनि गर्न सकिन्छ भनेर शक्तिसँग अरुलाई हेप्ने गरिन्छ । तब सिद्धान्त बन्छ जब दुस्मनलाई क्षमा दिनु हुँदैन, एक-एक गरेर सिध्याउनुपर्छ भन्ने मान्यता प्रबल हुन पुग्छ ।

उपनिर्वाचनले दिएका सन्देश ः

१. गठबन्धन विश्वासमा नभई शक्ति सुरक्षाका लागि हुन्छ । नेतृत्वले चोचोमोचो मिलाए पनि मतदाता हुकुमको पछि लाग्दैनन् ।

२. एकै प्रकृतिका मुद्धामा सत्ताको फरक-फरक व्यवहारलाई कार्यकर्ताले स्वीकारे पनि मतदाताले स्वीकारेनन् ।

३. प्रतिक्रियाले मात्रै शक्ति सुरक्षा प्राप्त गर्न सकिँदैन ।

४. घुस अब जिन्सीमा चल्न थालेको विषय सुक्ष्म अध्ययनको विषय बन्न पुगेको मास प्रतिक्रियात्मक परिणामले देखायो ।

५. माओवादीको शक्ति केही बढेको देखियो । त्यो उसको लोकप्रियता भन्दा पनि सत्ता गठबन्धनविरुद्धको आक्रोश हो । इतिहासको रक्षा गर्न वर्तमानको भूमिकाले औचित्य दिनुपर्छ ।

६. मतदाता बँधुवा हुँदैनन् । एकपटकको विश्वास सधैँका लागि हुँदैन भन्ने कुरा एमाले, कांग्रेस र माओवादीका कयौँ सिटहरू साटिएकाले पुष्टि  गर्‍यो ।

७. माओवादी सकियो भन्ने बजारिया कुरा, हल्ला सावित भयो ।

८. वैकल्पिक भनिएका नयाँ दलहरूप्रति मतदाताले विश्वास गरेनन् । स्वतन्त्र भन्ने दलहरू भिडको लहडमा चल्ने खहरे खोलाजस्तै हुन्छ ।

९. कांग्रेस र एमाले केही स्थानमा एक्लाएक्लै प्रतिस्पर्धा गर्न हिचकिचाए ।

१०. राप्रपाका उम्मेदवारहरूको जमानत जफत हुनुमा राजतन्त्रप्रतिको अरुचि अझै छ र धर्मनिरपेक्षताप्रति जनसमर्थन छ भन्ने देखियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्