धुलिखेल/जिल्ला विपद ब्यवस्थापन समितिको बैठक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख दिपकुमार गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, चौरी देउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकर लगायत पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, विपद ब्यवस्थापन समिति अन्र्तगत क्लस्टरका संयोजक तथा प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।
गत असोज १०-१२ गते परेको अविरल वर्षातका कारण हालसम्म बेपत्ता भएका ६ जनाका आफन्तलाई मृत्यु भए सरहको राहत उपलब्ध गराउने निणर्य भएको छ । २०८१ असार ३१ गते मन्त्रीपरिषद्को बैठकले बाढी पहिरोमा बेपत्ता भई १० दिनसम्म पनि फेला पर्न नसकेका तर यकिन भएकाहरुको हकमा मृत्यु भए सरह राहत उपलब्ध गराउने निणर्य गरेको थियो । जिल्लाले भने करिव पाँच महिना पुग्न लाग्दा मन्त्रीपरिषद्को उक्त निणर्यलाई आधार मान्दै राहत दिने निणर्य गरेको हो ।
हालसम्म बेपत्ता हुनेहरुमा तेमाल गाउँपालिका वडा नम्वर २ स्थित ६ बर्षिया बालिका अपृया तामाङ र ३ बर्षिया बालिका पृया तामाङ, चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ की ४० बर्षिया शान्ता रिमाल, धुलिखेल ८ की ४२ बर्षिया गिता श्रेष्ठ, बेथान्चोक ४ की ज्ञानु परियार र खानीखोला ६ की देविमाया स्याङ्गतान रहेका छन् । उनिहरुका आफन्तले प्रति मृतक २ लाखका दरले संघ सरकारको र प्रदेश सरकारको समेत राहत पाउनेछन् ।हालसम्म विपदको तथ्यांक उपलब्ध नभएकाले १० दिन भित्र स्थानीय विपद ब्यवस्थापन समिति मार्फत तथ्यांक उपलब्ध गराउन अनुरोध गर्ने निणर्य बैठकले गरेको छ । तथ्यांक उपलब्ध भए पछि १५ हजार र २० हजारको दरले तत्काल उपलब्ध गराउनु पर्ने अस्थायी राहत उपलब्ध गराउने निणर्य भएको सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले जानकारी दिए । तथ्यांक अध्यावधिक गर्न सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समिति समेत गठन भएको छ ।
बैठकले आगामी पुष ३ र ४ गते विपद जोखिम न्यूनिकरण तथा विपद ब्यवस्थापनमा सिकाई अनुभव आदान प्रदान तथा आगामी योजना कार्यान्वयनका विषयमा कार्यशाला गोष्ठी गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । साथै जाडोको मौषम शुरु भएकाले बाढी पिडीतहरुका लागि न्यानो कपडा लगायतका सामाग्रीहरु उपलब्ध गराउने, बाढीले बगाएका रुखहरु ढलेर अलपत्र रहेकाले त्यसको ब्यवस्थापनका लागि आवश्यक कानूनी प्रकृया वन कार्यालय मार्फत शुरु गर्ने, बनेपा र धुलिखेल नगरपालिका अझै संकटग्रस्त घोषणा नभएकाले तत्कालै घोषणाका लागि सरकारसँग अनुरोध गर्ने, अवरोध भएका सडकहरु खुलाउन, खुलेका सडकहरुलाई दुईतर्फि गर्न र दुईतर्फी भएका सडकहरुको मर्मत र स्तरोन्नतीमा ध्यान दिने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । साथै बैठकले बस्ती स्थानान्तरण, पुर्नस्थापना, खानेपानी, तटबन्ध, अस्थायी आवास, स्थायी आवासका विषयमा प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने निणर्य गरेको छ ।
