नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखाको २७ औँ साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ । जेष्ठ सदस्य, रामश्वर मकैको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष नेपाल सुधार भैलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाका सदस्य विजयराम कर्माचार्यले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सचिव कृष्णप्यारी नकर्मीले सचिवको प्रतिवेदन पेश गर्नुभयो भने कोषाध्यक्ष केष्णगोपाल तौजलेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । विश्व क्यान्सर दिवस, विश्व धुम्रपान दिवस, स्तन क्यान्सर विरुद्ध दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको काभ्रे शाखाले स्वास्थ्य शिविर, क्यान्सर केयर सेन्टर सञ्चालन, पाठेघर क्यान्सर सम्बन्धि अभिमुखिकरण, पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण गरी क्यान्सर रोग रोकथाममा योगदान पु¥याइरहेको बताइएको छ । नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखाका अध्यक्ष नेपाल सुधार भैलले विभिन्न संघसंसथा सँग समन्वय गरी शिविर, क्लिनिकलार्य निरन्तरता गर्दै लैजाने बताउनुभयो । ११९ जना सदस्यहरु आवद्ध रहेको संस्थामा सदस्य संख्या पनि वृद्धि गर्दै जाने उद्देश्य रहेको छ ।
