राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति काभ्रेको ८ औँ जिल्ला अधिवेशनले सहदेव भण्डारीलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । उपाध्यक्षद्वय इच्छाराम थापा, नवराज सत्याल, महिला उपाध्यक्ष गिता शाही, सचिव जीवन गोरे, कोषाध्यक्ष मनोज थापा, सहसचिवद्वय दामोदर थापा, भगवान पराजुली, सदस्यहरु रेमन्त कर्माचार्य, विनय महत, भिम्सेन भुजेल, लिलादेवी खड्का (श्रेष्ठ), रुपक खरेल, हिरा बजगाई, पूर्णवहादुर विक, रमेश दाहाल, चेतो ब्लोन सहित १७ जनाको जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष दिङदेलले राष्ट्रियता, प्रजातन्त्र र उदारवाद मुल नाराका साथ देश र जनताको सुख, शान्ति र समृद्धिको यात्रा अघि बढेको पार्टी राप्रपा भएको बताउनुभयो । राष्ट्रलाई जोगाउने, जनताको आशा र भरोसाको केन्द्र राप्रपा भएकोले आम नागरिकहरुले आगामी निर्वाचनमा १ नम्बर पार्टी बनाउन सहयोग गर्नुपर्ने धारणा राख्दै लिङदेलले भन्नुभयो ः प्रमुख राजनीतिक दल भनेका गणतन्त्रका सम्बाहक भन्ने आफ्नै मुठी भरकालाई भरण पोषण गर्ने, सत्ता लिप्सामा मात्र केन्द्रीत हुने जनताका समस्याहरु, देश विकास निर्माणमा केहि नगरेकोले अब राप्रपालाई आम नागरिकले साथ दिनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रविन्द्र प्रताप शाह, सहायक महामन्त्री विजय खड्का केन्द्रय सदस्यहरु उदयसिंह मुस्याजु, दिनेश कार्की, जमुना थापा, भिमसेन मैनाली, त्यस्तै गरी आमन्त्रीत केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । विगत ७ दशक देखि राप्रपा जिल्ला समिति काभ्रेलाई गतिशिल ढङ्गबाट अघि बढाउने, २०४७ देखि २०६४ साल सम्म १७ वर्ष सम्म जिल्लाको नेतृत्व समाल्नु भएका राप्रपा नेता गोपाल सिंह मुस्याजुको पार्टीमा अतुलनीय योगदान रहेको कुरा उक्त अधिवेशनमा अधिकांश बोल्ने वक्ताहरुले चर्चा गरेका थिए । अर्का केन्द्रीय सदस्य उदय सिंह मुस्याजुले नव निर्वाचित जिल्ला समिति युवा जुझारु भएकोले आगामी निर्वाचनमा काभ्रेका चार वटै क्षेत्र राप्रपाको किल्ला हुने गरी सबै एकतावद्ध भई अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।
