बनेपा । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कलाकार केके कर्माचार्यले सयपत्री प्रतिष्ठानले श्रष्टाको दम्पतीसहित गर्ने सयपत्री राष्ट्रिय सम्मान उदाहरणीय र अनुकरणीय रहेको चर्चा गर्दै दम्पती सहितको सम्मान आफूले अन्त नदेखेको बताउनु भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल जनागालले आयोजना गरेको सयपत्री राष्ट्रिय सम्मान २०८१ कार्यक्रममा सुर्खेतका वरिष्ठ साहित्यकार प्रा.डा.जीवेन्द्र देव गिरी र उहाँकी जीवनसंङ्गीनी पार्वती गिरी तथा काभ्रेली साहित्यकार प्रभात सापकोटा र उहाँकी जीवनसंङ्गीनी सरस्वती सापकोटालाई सम्मान प्रदान गर्नुहुदै प्रमुख अतिथि कर्माचार्यले उक्त कुरा बताउनु भएको हो । श्रष्टाको प्रगतिमा जीवनसाथीको महत्वपूर्ण भूमिका रहने र त्यो योग्दानलाई समेत मनन गरेर सयपत्रीले दम्पती सहित गर्दै आएको सम्मानले आफु ज्यादै प्रभावित भएको बताउनु भएको थियो ।
सयपत्री प्रतिष्ठानका सल्लाहार साहित्यकार मोहन दुवालले कार्यक्रममा सभापतित्व ग्रहण गर्नुहुदै सयपत्रीले राष्ट्रमा र काभ्रेली साहित्यमा विशिष्ट योगदान गरेका तर ओझेलमा परेका श्रष्टाहरुलाई समेत खोजीखोजी दम्पती सहित गर्दै आएको सम्मानले काभ्रेको गौरव बढाउनुका साथै राष्ट्र«मा पहिचान बनाउन सफल भएको बताउनु भएको थियो । कार्यक्रममा सम्मानित साहित्यकार प्रा.डा. जीवेन्द्रदेव गिरी र प्रभात सापकोटाले आफ्नो साहित्यिक क्षेत्र तथा व्यक्तिगत जीवनमा श्रीमतीको महत्वपूर्ण योगदान भएको बताउनु भएको थियो भने साहित्यकारहरु वासुदेव अधिकारी र डा. छायादत्त न्यौपानेले सम्मानित व्यक्तिहरुको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नु भएको थियो । प्रतिष्ठानले हरेक वर्ष देवकोटा जयन्तीकोे अवसरमा राष्ट्रिय स्तरका वरिष्ठ श्रष्टा एक दम्पती र काभ्रेली श्रष्टा एक दम्पतीलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा बनेपा नपा वडा नं १० का वडा अध्यक्ष चन्द्रबहादुर खडकाले सयपत्री प्रतिष्ठानले श्रष्टाहरुलाई सम्मान गर्दै आएको पराम्पराले जनागालको मात्रै नभएर बनेपाकै गौरव बढाएको बताउदै प्रतिष्ठानलाई वडाबाट गर्न सकिने सहयोगको लागि सदैव तयार रहेको बताउनु भएको थियो । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्री प्रतिष्ठानको गतिविधिबारे जानकारी दिनु हुदै २०५५ सालदेखि साहित्यिक कार्यक्रम संचालन गरेर हालसम्म ६० भन्दा बढी साहित्यिकार र दम्पत्तिहरुलाई सम्मान गरिसकेको जानकारी दिनु भएको थियो भने सम्मान कार्यक्रमको स्थायित्व र निरन्तरताको लागि अक्षयकोष स्थापना गर्न लागेको जानकारी दिनु भएको थियो । कार्यक्रम स्थलमानै कवि डा कृष्ण सुवेदीले ११ हजार एक सय ११ र जनमत वाङ्मय प्रतिष्ठानको तर्फबाट सम्पादक भारती श्रेष्ठले पाँच हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेर अक्षयकोषको शुभारम्भ गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले गत वर्षबाट आफ्ना स्वर्गिय बाआमाको नाममा स्थापना गर्नु भएको अक्षयकोषबाट जनज्योती माविबाट २०८० को एसइईमा उत्कृष्ट अङ्क ल्याउने विवेक गिरी र रीता श्रेष्ठलाई सयपत्री—रामभक्त भुवनदेवी स्मृती छात्रवृति समेत प्रदान गरिएको कार्यक्रममा प्रतिष्ठानको उपाध्यक्ष प्रद्युम्न न्यौपाने, सचिव रामसुन्दर देउजा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । एक दर्जन भन्दा बढी श्रष्टाहरुले रचना वाचन गर्नु भएको भएको उक्त कार्यक्रममा वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा र गायक रामहरी न्यौपानेले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
