बाबुले अंश दिन नमानेपछि छोराले हँसिया प्रहार गरी हत्या गरेका छन् । नमोबुद्ध नगरपालिका–७ धारापानी स्थित पुजारी थुम्का बस्ने ७४ वर्षीय बलबहादुर श्रेष्ठलाई उनकै छोरा ४४ वर्षीय रामलाल श्रेष्ठले हँसिया प्रहार गरी हत्या गरेका हुन् । बाबुको हत्या गरी फरार रहेका श्रेष्ठलाई प्रहरीले उनको घर नजिकै रहेको ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको थियो । उनी विरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले पत्रकार सम्मेलनमा बताउनुभएको हो । गत कार्तिक ८ गते बलबहादुर श्रेष्ठ र उनका जेठो छोरा रामलाल श्रेष्ठबीच अंशबन्डाका विषयमा विवाद भएको थियो । विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए भने हँसिया र फलामको आग्लो प्रहार गरी घाँटी थिचेर हत्या गरेका थिए ।
