आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ३ भञ्ज्याङ गाउँमा गत १६ गते दिउँगो साईलाकाजी भन्ने पल्छङ लामाको श्रीमती वर्ष ६९ की माईली लामा आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनाको अनुसन्धानको क्रममा उनैको कान्छो छोरा फुर्साङ लामाले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी प्रमुख उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । टाउकोमा चोट लागि मृत अवस्थामा रहेको खबर प्राप्त हुन साथ तत्काल प्रहरी चौकी खहरे पाँगु, ईलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकबाट खटिएको प्रहरी टोलीले गरेको अनुसन्धानको क्रममा निजकै छोराको संलग्न रहेको पाएको प्रहरीले जनाएको छ । घटनाको बारेमा मंगलबार धुलिखेलमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरेको थियो । सो क्रममा निज फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आफ्नै आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभलालशले मसला पिस्ने सिलौटोको लोरोले टाउकोमा प्रहार गरी अचेत बनाएको र पछि ढोकाको अग्लोले प्रहार गरी हत्या गरेको पाएको जनाएको छ । घटनाको बारेमा थप अनुसधान भईरहेको प्रहरी नायव उपरिक्षक मिलवहादुर घलेले बताउनुभयो ।
