बनेपा । सयपत्री प्रतिष्ठान नेपाल जनागालले यस वर्षको सयपत्री राष्ट्रिय सम्मान २०८१ सुर्खेतका वरिष्ठ साहित्यकार प्रा.डा. जीवेन्द्र देव गिरी र काभ्रेपलाञ्चोकका साहित्यकार प्रभात सापकोटा दम्पत्तिलाई प्रदान गर्ने जनाएको छ । प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तिको अवसरमा आगामी कार्तिक १६ गते बरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्यको प्रमुख आतिथ्यमा उहाँहरुलाई सम्मान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको संयोजकत्वमा अध्यक्ष राजेन्द्र श्रेष्ठ र सचिव रामसुन्दर देउजा सदस्य रहेको छनौट उप समितिले यस वर्ष सम्मानित हुने श्रष्टाहरुको नाम सिफारिस गरेकोलाई प्रतिष्ठानको शनिवार बसेको बैठकले गिरीलाई उहाँकी जीवनसंङ्गीनी पार्वती गिरी र सापकोटालाई उहाँकी जीवनसंङ्गीनी सरस्वती सापकोटाका साथ सम्मान गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले २०५५ सालदेखि जनागालमा साहित्यिक कार्यक्रम संचालन गरि राष्ट्रिय स्तरका एक र काभ्रेली एक श्रष्टालाई दम्पत्ति सहित वर्षेनी सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गर्दै आएको छ । श्रष्टाको श्रीमान श्रीमतीलाई नै सम्मान गर्ने परम्परा कायम गरेको प्रतिष्ठानले यस अघि ६० जना श्रष्टा र दम्पत्तिहरुलाई देवकोटाकोे एक साहित्यिक कार्यक्रमका वीच उहाँहरुलाई सम्मान गरि सकेको छ । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय स्तरका वरिष्ठ श्रष्टा एक जोडी र काभ्रेली श्रष्टा एकजोडीलाई सम्मान गर्दै आएको छ । १६ गतेहुने सम्मान कार्यक्रममा राष्ट्रिय र जिल्लाका श्रष्टाहरुको रचना वाचन कार्यक्रम समेत हुने भएकोले प्रतिष्ठानले सहभागिताको लागि सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । प्रतिष्ठानले सम्मान कार्यक्रममा कवि गोष्ठी समेत हुने भएकोले श्रष्टाहरुलाई सहभागिताको लागि सबैमा अनुरोध गरेको छ ।
