२०८१ असोज १० देखि १२ सम्म परेको अबिरल वर्षातको कारण बाढीपहिरोले विभिन्न क्षेत्रमा करिब एक अर्ब बराबरको क्षति पुगेको धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ । आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् ।
नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब रु एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको बताउनु भयो ।
सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपद्पछि पुनः निर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए । उनका अनुसार ध्यानाकर्षण पत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रसमेतको पुनः निर्माणका लागि ध्यानाकर्षण गराइएको छ ।
नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणको लागि ध्यानाकर्षण गराइएको उल्लेख गर्नुभयो । उनले गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब रु एक अर्ब बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाइएको नगर प्रमुख ब्याञ्जूले उल्येख गर्नुभयो ।
नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्षातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा र पाँच सय ७२ घर आंशिक क्षति भएको जनाएको छ ।
त्यसै गरी करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनः निर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरले जनाएको छ ।
