सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेका गर्नुभएको छ ।
पौडेलले मन्त्रालयमा पद बहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल गर्नुभएको थियो । हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति रहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारकका रूपमा रहेको छ । त्यसमध्ये पनि ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ।नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार सेवा निःशुल्क गर्ने निर्णय गरिएको मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।
नेपालले मंसिरको दोस्रो सातादेखि बालबालिकामा हुने क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो। त्यसको पहिलो खोप मंसिरको दोस्रो साताबाट आउन थाल्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । सम्झौताअनुसार नेपालले ४ वर्षसम्म ती औषधि निःशुल्क पाउनेछ ।
औषधिको प्रभावकारी वितरण सुनिश्चित गर्न तथा आपूर्ति शृंखला प्रणाली र स्वास्थ्य सेवा सुविधालाई सुदृढ गर्न ९ध्ज्इ०ले प्राविधिक सहयोग उपलब्ध गराउनेछ। युनिसेफले औषधि खरिद गरेर सम्बन्धित देशलाई हस्तान्तरण गर्छ। उक्त औषधि हाललाई भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पतालमा उपचार गर्ने बालबालिकामा क्यान्सर देखिएको खण्डमा प्रयोग गरिनेछ ।
