धुलिखेल÷काभ्रेपलाञ्चोक जिल्लामा असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षातका कारण बाढी पहिरोमा परी ७८ जनाको मुत्यु भएको छ भने अझै ६ जना वेपत्ता छन् । वेपत्ताहरुको खोजी कार्य हालका लागि स्थगित गरिएको छ । निरन्तर खोजी कार्य जारी राखेको भए पनि फेला नपरे पछि तत्कालका लागि स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दियो ।
हालसम्म बेपत्ता हुनेहरुमा तेमाल गाउँपालिका वडा नम्वर २ का ३ बर्षिया बालिका पृया तामाङ र ६ बर्षिया बालिका अपृया तामाङ छन् । उनिहरु दुबैजना पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ की ४० बर्षिया शान्ता रिमाल अझै वेपत्ता छिन् । उनको खोजी कार्यका लागि असोज १६ गतेसम्म जेसिवीको सहायताले खोजतलास गरिएको थियो ।
धुलिखेल नगरपालिका वडा नम्बर ८ की ४२ बर्षिया गिता श्रेष्ठ पनि अझै वेपत्ता छिन् । उनको पनि निरन्तर खोजतलास जारी भए पनि फेला पर्न सकेको छैनन । बेथान्चोक गाउँपालिका वडा नम्वर ४ घर भएकी ३८ बर्षिया ज्ञानु परियार पनि वेपत्ता छिन् । खानीखोला गाउँपालिका ६ घर भएकी देविमाया सिंतान ३७ बर्षियापनि अझै बेपत्ता छिन् ।
मृत्यु हुनेहरुमा सबै भन्दा धेरै पनौती नगरपालिकामा छन् । पनौतीमा एक विदेशी नागरिक सहित १९ जनाको बाढी पहिरोमा परी मुत्यु भएको छ । रोशी गाउँपालिमा १३ जनाको मृत्यु भएको छ । एक जना रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्वर ३ नमुना बस्तिकी ३५ बर्षिया अन्जु बस्नेत माझी छन् । उनी माम्ति खोलामा बगेकी हुन् । तेमाल गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ । २ बालिका अझै बेपत्ता छन् । बेथान्चोकमा १२ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छिन् । बेथान्चोकमा खानीखोलाका एक जनाको मृत्यु भएको छ । मण्डनदेउपुर र नमोबुद्धमा ७÷७ जनाले ज्यान गुमाए । बनेपा र भुम्लुमा ३÷३ जनाको मृत्यु भएको छ । धुलिखेलमा २ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छिन् । चौरीदेउरालीमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । एक जना अझै बेपत्ता छिन् । खानीखोलामा एक जना अझै बेपत्ता छिन् । महाभारत गाउँपालिका र पाँचखाल नगरपालिकामा भने मानवीय क्षति वेहोर्नु परेन ।
जिल्ला प्रशासन कार्यालय मार्फत मृतकका आफन्तलाई सरकारले उपलब्ध गराउने भनेको २÷२ लाख नगद भुक्तानी भएको छ । बेपत्ताको हकमा निर्णय भएको छैन । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अधिकांश मृतकका आफन्तलाई राहत रकम दशै अघि नै बुझाएको बताए ।
