जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्का, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरी र श्यामपाटी प्रहरी चौकी नमोबुद्धका इन्चार्ज असई नवराज कार्की पुरस्कृत हुनु भएको छ ।
एसपी वसुन्धरा खड्का उत्कृष्ट विपद व्यवस्थापक पुरस्कारबाट सम्मानित हुनु भएको हो भने उत्कृष्ट प्रहरी निरिक्षक गिरीले अनुसन्धानकर्ता पुरस्कार मार्फत सम्मानित हुनु भएको हो । असई कार्कीले उत्कृष्ट संचार गरे बापत सम्मानित हुनु भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले एसपी खड्का, प्रहरी निरिक्षक गिरी, असई कार्कीलाई पुरस्कार सहित कदर पत्र प्रदान गर्नु भएको हो ।
सिन्धुलीका एसपी गोविन्दराज काफ्ले पनि सम्मानित भएका छन् । विपद्का समयमा सिन्धुली र काभ्रेमा भएको विपदमा उत्कृष्ट ब्यवस्थापन गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । मंगलटार क्षेत्रमा असोज १०–१२ को वर्षातको समयमा करिब ६ हजार नागरिकहरु अलपत्र परेका थिए । ७ सय सवारी साधन र ६ हजार नागरिकको ब्यवस्थापनमा उत्कृष्ट कार्य गरे बापत मंगलटारका इन्चार्ज गिरी पुरस्कृत हुनुभयो । एसपी बसुन्धरा खड्का समग्र जिल्लाको ब्यवस्थापनमा उत्कृष्ट भए बापत सम्मानित हुनु भएको हो ।
काभ्रेपलाञ्चोक जिल्लामा विपदमा परी ७८ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । ७९ जना घाईते उपचार पछि घर फर्किएको जिल्ला प्रहरी काभ्रे धुलिखेलले जनाएको छ ।
