छविरमण सिलवाल कविता लेखिरहन्छन् कहिले फुटकर रुपमा, कहिले एकल संग्रह त कहिले संयुक्त कविता संग्रह लिएर । बाँच्नको खातिर व्यवसाय गर्नुको अलावाको समय अधिकतर कविता लेखिरहनु, पोस्ट गरिरहनु, वाचन गरिरहनु, कृतिको रुपमा प्रकाशन गरिरहनु सनातनी कार्य हो । त्यसो त कथा, बालसाहित्य, नियात्रा लेख्ने, पुस्तक समीक्षा गर्ने, एफएम रेडियोमा साहित्यिक कार्यक्रम चलाउने जाँगर पनि चलाइरहेकै देखिन्छ ।
नेपाली साहित्य आकाशमा, अझ भनौं कविता विधामा नाम चलेका कवि हुन् – छविरमण सिलवाल । काभ्रेली कविता फाँटको त दरिलो खम्बै हुन् । विगतमा सहृदयी स्वरहरु (संयुक्त संग्रह, २०५९), छुपुछुपु (बालकविता संग्रह, २०६०), मनको शिविरबाट (२०६७) तीनवटा संग्रहको अलावा यतैकतै (संयुक्त संग्रह, २०७७) कविताको हिसाबले यो पाँचौं कृति तथा एकल संग्रहका रुपमा तेश्रो कृति मान्नुपर्दछ – डोरम्याट कविता संग्रह । यसको अलावा सिर्जनाका लहरहरु (समीक्षा, २०६४), ग्रीनवीचको साँझ (नियात्रा, २०७५) पनि प्रकाशित भैसकेका छन् भने सबैभन्दा राम्रो माल र म किन डराउँछु शिर्षकका बालउपयोगी पुस्तकहरु रुम टु रिडबाट छापिईसकेका छन् । यस मेसोमा पछिल्लो समय डोरम्याट शिर्षकमा कविता संग्रह प्रकाशनमा ल्याएका छन् – छविरमणले ।
डोरम्याट कविता संग्रहमा ३० वटा कविता समेटिएका छन् । अधिकतर कविताहरुमा समसामयिक राजनैतिक तथा सामाजिक विकृति विरुद्ध चोटिला प्रहार गरिएका छन् । यसमध्ये कृतिकै नाम शिर्षकको ‘डोरम्याट’ कविता त माथा न हल्लाउने खालको छ ।
‘महाराज !
कतिन्जेलसम्म चल्नेछ
हाम्रो छातीमाथि हजुरको राज ?’
नेताहरुले जनता अनि कार्यकर्ताहरुलाई कति विघ्न प्रयोग माथि प्रयोग गरिरहेका छन् भनेर सचित्र पारेका छन् । सिंहदरबार, मान्छे, नेता (टाउको लुकाउने प्रसङ्गमा), बुङ्गा अनि युगपुरुष, वधशाला, भगौदा ठेकेदार शिर्षकका कविताहरुमा यस्तै आक्रोश पोखेका छन् कविले ।
‘हराएको ठेकेदारजस्तै देखिने त्यो मान्छे
सिंहदरबारभित्र भर्खरै फुत्त छिरेको छ रे !’
यस संग्रहमा बा, आमा, छोरा माथि पनि लेखिएका कविता पनि समेटिएका छन् तर बा प्रति धेरै । स्मृतिमा बा, बाको तस्बिर, धुँवाको सिँढी शिर्षकका बासम्बन्धी कविता एक से एक छन् । मुटु नै गाँठो पर्ने खालको छ, ठाउँठाउँमा । तर ‘जुठो थाल’ शिर्षकको कवितामा भने महिला पुरुष सरोबरीको विषय उठान गरेका छन् र लेख्छन् –
‘हरे ! कस्तो कुरा गर्छ यो !
आईमाईको जुठो पनि
लोग्नेले खान्छन् त ?’
आस्थाको भग्नावशेष, गन्तव्यहीन यात्रा, समय त्रासदी, पूmलको हाँसो, आँसु, रोकिएको समय, रङ्ग, वर्जित श्रद्धाञ्जली, सावधान, चाहना, अदृश्य ईश्वर शिर्षकका कविताहरुमा आफ्नो दिक्दारी मनोभावहरु पोखेका छन् कविले । रुख, काम नलाग्ने सामान कविता छोटा त वातावरण एवं पर्यावरणीय दृष्टिले मार्मिक छन् ।
‘मेरो हत्या गर्ने मानिसलाई
थाहा छैन तिनलाई
मैले नै
अन्तिममा खरानी बनाउनुपर्छ ।’
सिरिया युद्धमा मारिएका बच्चाहरुलाई समर्पित कविता ‘पृथ्वी कसको’ भन्ने शिर्षक कविता विगतमा नेपालको माओवादी सशस्त्र द्वन्द्व, रसिया युक्रेन, ईजरायल प्यालेस्टाईन युद्धमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
‘के यो पृथ्वी तिम्रो आफ्नै हो
या तिमीले तिम्रा लागि मात्र
रजाइँ गर्न बनाउन लगाएका हौ ?’
‘दुख्ने कुरा’ शिर्षकको कविता राष्ट्रियताले ओतप्रोत छ । र, कवि दुखेसो पोख्छन् –
‘बेला बेलामा दुख्ने
टनकपुर, सुस्ता र लिपुलेकको घाउ
निको गर्न सक्ने
कोही जन्मेनन् ।
कृतिः डोरम्याट
विधाः कविता
कृतिकारः छविरमण सिलवाल
पृष्ठः ९६+४
प्रकाशकः भुँडी प्रकाशन, काठमाण्डांै
