२१ असोज, काभ्रे । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफनो सेवा सुविधावापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गर्नु भएको छ । उहाँले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गर्नुभएको हो । आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधावापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो । ‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले सहयोग होस् भनेर यो निर्णय गरेको नगर प्रमुख खरेलले भन्नुभयो । असोज १० र १२ गते आएको बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति भएको छ । योसँगै खरेल लगायत नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाईं, मधुप्रसाद आचार्य, गणेश लामालगायतले नमोबुद्ध, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुर लगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपाल वितरण गरेको छन् ।
