बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा उग्रेश्वर मन्दिर प्राङ्गणमा बनेपा महोत्सव–२०८१ को उद्धघाटन भब्य र सभ्य रुपमा भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार देखि संचालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन बनेपा पार्टी भेन्युबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा नाच, झाँकी सहित विभिन्न संघ संस्था, कलेज, क्लबको सहभागितामा ¥यालीको आयोजना गरिएको थियो । शुक्रबार सुरु भएको महोत्सवको बागमती प्रदेशको आर्थिक, मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले उदघाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले लोकतान्त्रीक गणतन्त्र आएपछि राजनीतिक लडाँई सकिएको सबै खालका विभेदको अन्त्यको चरण प्रारम्भ भएकोले अब मुलुक विकास र समृद्धिको यात्रामा लागेको बताउनुभयो । मन्त्री काफ्लेले ग्रामिण अर्थतन्त्र बलियो बनाउन उत्पादनमा आत्मनिर्भर गर्न कृषि क्षेत्रको व्यवसायिक विकास र उद्यमशिलतामा जोडदिने उल्लेख गर्नुभयो । मेला महोत्सवले कृषि बजार प्रवद्र्धनमा ध्यान दिनुपर्ने मन्त्री काफ्लेले उल्येख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले मेला महोत्सवले स्थानीय उत्पादन तथा कलाको संरक्षण तथा प्रवद्र्धन हुनुपर्छ भन्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले महोत्सव सफलताको कामना गरेका थिए । महोत्सवमा बिभिन्न बिधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथ हरेक दिन चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।
