तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले पेरिस पाराओलम्पिकमा एतिहासीक कास्य पदक दिलाएकी छिन् । अब उनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन् । नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल, गृष्मकालीन, शीतकालीन, पारा र विशेष तथा विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ ।
नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ । नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
