मानव जातिको हित गरी देश निर्माणको अभियानमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । काठमाण्डौं विश्व विद्यालयको २९ औं दीक्षान्त समारोहमा प्रम ओलीले सफलता हाँसिल गरेका विद्यार्थीहरुलाई उक्त कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गर्नुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई निर्देशन गरेको बताउनु भयो ।
समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरेका छन् भने स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा उपकुलपति डा. भोला थापाले मन्तव्य राख्नु भएको थियो । समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका छन् ।
