बनेपा÷काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त आयोजनामा समुदायमा जेसीज सक्रिय कार्यक्रम २०२४ को शुभारम्भ गरिएको छ । प्रारम्भीक चरणमा सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले जान्नु पर्ने विभिन्न विषयका बारेमा जागरण र चेतनामुलक सूचना सन्देश सहितको स्टिकर बसमा टाँसिएको छ । प्रारम्भमा काभ्रे बस प्राली र काभ्रे पुण्यवती यातायात प्रा.लीका सम्पूर्ण बसहरुमा स्टिकर टाँस गरिएको कुरा काभ्रे जेसीजका अध्यक्ष रिकेश सैंजुले बताउनुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विकासकुमार तामाङ, काभ्रे बस सेवा प्रालीका अध्यक्ष वर्ण शाक्य, काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेशसुन्दर सैंजु, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजाराम गौतम, काभ्रे लेडी जेसीजका अध्यक्ष सविता बर्जाचार्य, बनेपा जुनियर जेसीजका अध्यक्ष सृष्टि श्रेष्ठ, काभ्रे जेसीजका निर्जन गौतम लगायतले अभियान संचालन गर्दा नागरिकहरुले प्राप्त गर्ने सुविधाका सवाल जेसीज, जेसीजका उदेश्य र कार्यक्रमका बारेमा धारणा राख्नु भएको थियो । जेसीजले सक्रिय प्रोजेक्ट बमोजिम कार्यक्रम शुरु गरेको छ ।
बसमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाईएमा प्रहरीलाई खवर गर्न, सवारी चढ्दा र ओर्लँदा बस पूर्ण रुपमा रोकी सकेपछि अरुलाई नधकेली एकलाईनमा सभ्य भई यात्रा गर्न, यात्रु विद्यार्थीहरुले सक्कली परिचयपत्र देखाई छुट सुविधा लिन, सवारी साधन चढ्दा कुनै पनि मानवीय अंग सवारीबाट बाहिर ननिकाल्न, चालकलाई सुरक्षित तरिकाले सवारी साधन चलाउन प्रेरणा गर्न र तिब्र गतिमा चलाउन नउकास्न, आफ्नो सामानको सुरक्षा आफै गर्न, आरक्षण सिटमा तोकिएको महानुभावले मात्र प्रयोग गर्न, तोकिएको बस स्टप वा बस विसाउने ठाउँबाट सवारीमा चढ्ने र ओर्लने गर्न अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र आफु नजिकै कुनै घटना भएमा, महिला माथी दुब्र्यवहार गरेको देखेमा, गाडीको गति तोकिएको भन्दा तिब्र र असुरक्षित महसुस भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीका सम्पर्क नम्वरहरु, दमकल, एम्बुलेन्स, ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, काभ्रे बस प्राली, काभ्रे पुण्यवती प्राली लगायतमा खवर गर्न आग्रह सहितका स्टिकर बसहरुमा टाँसेको काभ्रे जेसिजका अध्यक्ष सैँजुले बताउनुभयो ।
