वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व हिजो देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् र जनै लगाउँछन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षावन्धन धारण गरेमा नकारात्मक प्रभाव र तत्वबाट सुरक्षित रहन सकिने धार्मिक विस्वास छ ।
बनेपा नगरपालिका वडा नम्बर ६ स्थीत धार्मिक तीर्थस्थल गोसाईस्थानमा पनि हिजो मेला लाग्यो । उक्त क्षेत्रमा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन भक्तजनहरूको भिड लाग्ने गर्छ । गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा हिजो भक्तजनहरुको ठूलै घुइँचो लागेको थियो । काभ्रेको विभिन्न स्थानका साथै काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायत जिल्लाका भक्तजन आउने गरेका छन् ।
एक दशक अघि नैमिशारण्य क्षेत्रका रुपमा विकास गरिएकाले दुरदराजबाट भक्तजनहरु आउने गरेका छन् । उक्त गोसाइँकुण्डमा गइ नुहाएमा रसुवाको गोसाइँ कुण्डमा गई पूजा अर्चना गरी स्नास गरेमा पाप नास हुनुका साथै दुःख हरण हुने धार्मिक विस्वास छ ।
