धुलिखेल अस्पताललाई स्वीस सरकारको सहयोगमा ३ लाख युएस डलर बराबरको अत्याधुनिक ल्याव मेशिन सहयोग उपलब्ध गराएको छ । उक्त मेशिनको नेपाली रकम करीब ४ करोड बराबरको हो । अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजुलाई स्वीस राजदुत डा. दयानिला मेयुवाली ९म्च। म्बलष्भििभ ःभगधथि० ले मेशिन हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा राजदुत दयानिला, अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, अस्पतालका प्रमुख प्रशासकिय अधिकृत डा.विराजमान श्रेष्ठ, डा. ज्योति तखाँक्षे र डा.अन्जना डंगोल, डाइग्नोटेक सपोर्ट प्रा.लि.का कार्यकारी निर्देशक शुशील थापा लगायत अस्पतालका विभिन्न विभागका विभागीय प्रमुखहरुको आतिथ्यता रहेको थियो । समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको धुलिखेल अस्पतालले पिछडिएका, गरीब, सीमान्तकृत एवं ग्रामीण भेगका सेवाग्राही विरामीलाई थप गुणस्तरीय प्रभावकारी स्वास्थ्य सेवा पु¥याउने अभियानलाई बृद्धि गर्न स्वीस सहयोग, डाइग्नोटेक सपोर्ट प्रा.लि.(रोश डाइग्नोस्टिक्सको नेपाल स्थित आधिकारिक विक्रेता) र धुलिखेल अस्पतालबीच सहकार्य गरेको हो । सहकार्यको प्रारम्भमा स्वीट्जरल्याण्ड र डाइग्नोटेक सपोर्ट प्रा.लि.को लगानीमा धुलिखेल अस्पतालको ल्याब सम्बन्धी श्रोतसाधनको क्षमता थपका लागि रोश इन्टिग्रेटेड कोबास प्योर सिष्टम नामक आधुनिक ल्याब मेशिन अत्याधुनिक (प्रविधी) धुलिखेल अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त मेशिनको प्रयोगबाट सुधारिएको डाईग्नोस्टिक (निदान) ल्याब सेवामा पिछडिएका जनसमुदायको सहज पहुँच पुगी उन्नत स्वास्थ्यसेवाको नतिजा ल्याउन प्रत्यक्ष फाईदा पुग्ने अपेक्षा गरिएको छ । रोश इन्टिग्रेटेड कोबास प्योर सिष्टमको उपलब्धताले ल्याबको कार्य क्षमतामा छिटो छरितो हुनुको साथै ल्याब रिपोर्ट समेत तुरुन्तै प्रदान गर्ने छ । उक्त अत्याधुनिक मेशिनबाट मुटुको जाँच, महिला रोग उपचारको लागि मद्दत पुग्ने बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा राजेन्द्र कोजुले बताउनु भयो । नयाँ प्रविधीका माध्यमबाट धुलिखेल अस्पतालले धेरै मात्रा परीक्षणहरु चुस्त, छिटो गर्न सक्षम भई सेवाग्रहीहरुले भरपर्दो स्वास्थ्य सेवा पाउन सफल हुने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा धुलिखेल अस्पतालले बेग्लै पहिचान बनाएको समयमा उक्त मेशिनको प्रयोगले बायोकेमेष्ट्रीका सामान्य परीक्षणदेखि जटिल परीक्षणमा थप प्रभावकारीता ल्याउने प्रेस संयोजक प्रा.डा.सुमन ताम्राकारले जानकारी दिनुभयो ।
