सामाजिक क्रियाकलापमा निरन्तर लागेको रोटरी ई क्लब नमोबुद्धले बनेपाका नगरवासीहरलाई आर्थिक आय आर्जन सँग जोड्न फलफुलको विरुवा वितरण गरेको छ । क्लबको अध्यक्ष रोटरीयन गंगा लुइटेलको सभापतित्वमा भएको कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथि हुनुहुन्थ्यो । उप–प्रमुख विमला सापकोटा दाहाल, रोटरी क्लबका निवर्तमान डिष्ट्रीकट गभर्नर रोटरीयन राजेन्द्र प्रसाद धोंजु, निवर्तमान डिष्ट्रिक्ट सेक्रेटरी रोटरीयन दिनेश मानन्धर समाज सेवी, रत्नकुश रञ्जीतकार, क्लबका कार्य समिति र सदस्यहरुको उपस्थिति रहेको थियो । क्लबको दोश्रो सर्विस प्रोजेक्ट अनुसार वातावरण तथा जलवायु परिवर्तन अन्तरगत बनेपा नगरपालिका सँग ३ वर्षका लागि सम्झौता गरिएको क्लबको अध्यक्ष गंगा लुइटेलले बताउनुभयो । बनेपा वडा नं १ टुकुचा नालाका ६ सय ५० घर धुरीलाई कागती, एभोकाडो अम्बा, सुन्ताला र जापनीज नास्पाती आदिका विरुवाहरु वितरण गरेको हो । बाँकी फलफुलका विरुवा ६ सय ५० अर्को पटक दिइने जनाएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपाका ग्रामीण क्षेत्रलाई फलफुलको पकेट क्षेत्र बनाई आय आर्जनसँग जोड्ने अभियानमा रोटरी ई–क्लव अफ नमोबुद्धले सघाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
