बनेपा नगरपालिका वडा नम्बर ३ नालाकी सुत्केरी ईश्वरी सुन्दासको प्रसुति सम्बन्धि उपचारको क्रममा मृत्यु भएपछि आन्दोलित आफन्त र अस्पताल बिच आइतबार सहमति भएको छ । जस अन्तर्गत सोही अस्पतालमा जन्मेका उपचाररत नवजात शिशुको डिस्चार्ज नभए सम्मका लागि भएको खर्च र मृतकको उपचार हुँदा भएको खर्च निःशुल्क गर्ने, नवजात शिशु र पहिलेका एक सन्तानको शिर मेमोरियल अस्पतालमा २२ वर्ष सम्म निःशुल्क उपचार गर्ने सहमति भएको छ । त्यस्तै मृतक इश्वरी सुन्दासका पति विकास सुन्दासलाई अस्पतालमा रोजगारी दिलाउने सहमती भएको पत्रमा मृतकका जेठाजु अर्जुन सुन्दास र अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. एन्जेला बस्नेतले हस्ताक्षर गरेका छन् । गर्भवती इश्वरीलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय इश्वरीले ११ गते नर्मल डेलिभरी मार्फत नवजात शिशु (छोरा) जन्माएकी थिइन् । त्यसपछि रगत बग्न नरोकिएको र सोही अस्पतालमा पाठेघरको अप्रेशन गरिएको थियो । अप्रेशनपछि शिर मेमोरियल अस्पतालकै आइ.सी.युमा राखेर उपचार गरिएको थियो । अवस्था नाजुक हुँदै गएकी इश्वरीलाई डाक्टरले मृत घोषणा गरेका थिए । इश्वरीको मृत्युपछि आफन्तहरुले अस्पतालमा विरोध प्रद्र्धशन गरेका थिए । डाक्टरको लापर्बाहीले इश्वरीको मृत्यु भएको भन्दै ३०÷४० जना भेला भएर हल्ला र हुलहुज्जत गरेको प्रहरीले जनाएको छ । उनीहरुको हुलहुज्जतका कारण आई.सि.युमा जाने ढोकाको सिसा फुटेको थियो ।
