पर्सि जेठ ६ गते राष्ट्रियसभाको चुनाव हुदैछ । राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री रामबहादुर थापा र खिमलाल देवकोटा चुनावी प्रतिस्पर्धामा छन् । सशस्त्र युद्धकालभरि माओवादीका उच्च तहका नेता रहेका र भर्खरै दल-बदलेर एमाले ओली पक्षमा गएका गृहमन्त्री थापा एमाले उम्मेदवार छन् । विपक्षी कांग्रेस, माओवादीबाट देवकोटाले उम्मेद्वारी दर्ता गराएका हुन् । उनी एमाले माधवकुमार नेपाल समूहका तर्फबाट उम्मेदवार बनेका हुन् । तर नेपाल समूह, यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तारत भएसँगै उनको स्थिति फेरबदल हुने सम्भावना छ । तर संघीयताका पक्षमा लामो समयदेखि वकालत गर्दै आएका देवकोटा आफूलाई एमालेका नेता कार्यकर्ताको पनि समर्थन भएको दाबी गर्छन् ।
तर, ठीक यतिबेला पूर्वमाओवादीप्रति एमाले नेता कार्यकर्ताको आक्रोश पनि छ । दश वर्षे सशस्त्र द्वन्द्वमा ४९० जना एमाले नेता कार्यकर्ताको हत्या भएको थियो । सशस्त्र द्वन्द्वमा एमाले नेता कार्यकर्ताको यो हताहती पञ्चायतविरुद्धको आन्दोलन, जनआन्दोलन लगायतका आन्दोलनमा भन्दा सबैभन्दा ठूलो क्षति थियो । अब प्रश्न उठ्छ, एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले ‘जनयुद्ध’का नायक पूर्वमाओवादी नेता थापालाई भोट हाल्छन् या एमाले पृष्ठभूमिकै संघीयता पक्षधर देवकोटालाई ? यसको छिनोफानो पर्सि जेठ ६ गते हुने चुनावले नै गर्नेछ ।
