बनेपा नगरपालिका वडा नं ६ बुडोलमा यातायात व्यवस्था कार्यालयको शनिबार उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले कार्यलयको उद्घाटन गर्दै कार्यलयलाई नमुना बनाउन निर्देशन दिनुभयो । यातायात क्षेत्रमा डिजिटलाइजेसन शुरु गरेको भन्दै उहाँले फाइल बोकेर हिड्ने दिन सकिने दाबी गर्नुभयो । काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाका सेवाग्राहीलाई यो कार्यलय स्थापना भएपश्चात भक्तपुरसम्म जानुपर्ने झन्झटको अन्त्य भएको छ । बनेपा नगरपालिकाले कार्यालय स्थापना गर्नको लागि बुडोलस्थित सपिङ कम्प्लेक्सको दुई तला भवन १० बर्षको लागि निशुल्क रुपमा उपलव्ध गराएको छ । कार्यालयबाट प्रारम्भिक चरणमा सवारी दर्ता, नामसारी, नविकरण, प्रतिलिपी जारी, सवारी जाँचपास (प्राविधिक निरिक्षण÷परिक्षण) सम्बन्धी कार्य, बाटो इजाजत (रुट परमिट) प्रदान र नविकरण सम्बन्धी काम हुने यातायात व्यवस्था कार्यलय काभ्रेपलाञ्चोकका प्रमुख अनुप ढकालले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, रत्नप्रसाद ढकाल, रुकु चौलागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाइँ, उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्य बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य लगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
