रोशी गाउँपालिकाले शिक्षाको गुणस्तरीयता विस्तार गरी सबैलाई शिक्षित बनाउने अभियानको थालनी गरेको छ ।
विहीबार शैक्षिक आधार तयार पुरा भएको घोषणा गरी अनिवार्य तथा निःशहुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरेको छ । शिक्षा विकास निर्देशनालय हेटौंडा मकवानपुरका महानिर्देशक दिपेन्द्र सुवेदी र गाउँपालिका अध्यक्ष दिनेश लामाले एक कार्यक्रम बिच उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले सबैका लागि शिक्षा, बालबालिकाहरुको शैक्षिक विकासमा गुणस्तर सुधार गर्ने अभिप्रायका साथ संविधान प्रदत्त अधिकार प्रयोग गरी कार्यान्वयन चरणमा लागेकोमा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अभिभावक सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
बालकेन्द्रीत शिक्षा प्रदान गर्न सबैको साझा चिन्तनले सकारात्मक भूमिका खेलेकोले आगामी दिनमा पनि टिमवर्किङ्गको महत्वपूर्ण भूमिका रहनु पर्ने तर्क प्रमुख अतिथि सुवेदीले राख्नु भयो ।
६४ वटा सामुदायिक विद्यालय, २ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । घरधुरी सर्भेक्षणमा ६ हजार ७ सय ५२ मा ४ वर्षदेखि १३ वर्ष उमेरका बालबालिकाहरु ५ हजार ७ सय ४ छन् । शतप्रतिशत बालबालिकाहरु विद्यालय भर्ना गरी सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको घोषणा गरिएको छ । गाउँ शिक्षा समितिले २०८१ असार ५ गतेको निर्णयले निःशुल्क शिक्षा लागू गरेको हो । अबदेखि रोशी गाउँपालिकाले माध्यमिक तह सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिन पाउने छैन । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालले शैक्षिक क्षेत्रको गुणस्तर विकासमा सामुहिक उत्तरदायित्व बहन गर्नुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक विद्यालय महासंघका महासचिव श्रीकृष्ण थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा अध्यष दिनेश लामाले शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि, गाउँपालिकाको समग्र विकास, जेष्ठ नागरिकहरुको स्वास्थ्य बीमा कार्यक्रम लागू गरी लाभान्वित भएको सुशासन र नागरिकलाई सेवा प्रवाहमा समेत अब्बलता भएको उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राम तामाङले गर्नुभएको थियो ।
