धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८१–२०८२ सालको वार्षिक बजेट, नीति तथा कार्यक्रम तथा विधेयकहरु पास गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रस्तुत गरिएको बजेटमा १० करोड कम बजेट प्रस्तुत गरिएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले आर्थिक वर्ष २०८१–२०८२ को बािर्षक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख नीराजन जंगमले आर्थिक वर्ष २०८०–२०८१ को यथार्थ स्थिति समीक्षा सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपप्रमुख जंगमले आर्थिक वर्ष २०८१–२०८२ को आर्थिक विधेयक, विनियोजन विधेयक समेत प्रस्तुत गरेका थिए । धुलिखेल नगरपालिकाको तथ्यांक तथा अभिलेख व्यवस्थापन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष रोमीप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभयो । स्थानीय भाषा कला संरक्षण विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष गणेश आचार्यले प्रस्तुत गर्नुभयो ।
त्यस्तै विज्ञापन कर (व्यवस्थापन तथा नियमन) विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष नारायणप्रसाद बडालले प्रस्तुत गरे । मध्यकालिन खर्च संरचना २०८१–२०८२–२०८३–२०८४ सभा सदस्य तथा वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गर्नुभयो ।
सभाका सदस्यहरुले सार्वजनिक सरोकारका विषयहरुमा धारणा राखेका थिए । उठेका विषयहरुलाई सम्बोधन गर्दै निर्णयार्थ प्रस्तुत गरिएका सबै विषय सर्वसम्वतबाट पास भए । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले नगर सभामा स्वागत गर्दै नगर सभा सञ्चालनका विषय बस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।
नगर प्रमुख अशोक ब्याञ्जुले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटको बाँडफाँट र स्रोत व्यवस्थापनको अनुमान सभा समक्ष पेस गर्नुभएको थियो । आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ५ करोड ९५ लाख २५ हजार विनियोजन गरेको छ । कुल विनियोजन मध्ये चालु खर्च तर्फ ६७ करोड ४८ लाख ५३ हजार अर्थात् ६३.६९ प्रतिशत, पुँजीगत खर्च तर्फ ३७ करोड ७६ लाख ७२ हजार अर्थात् ३५.६५ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७० लाख अर्थात् ०.६६ प्रतिशत रहेको जानकारी गराएका थिए ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएका खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व (मौज्दात समेत) बाट १४ करोड ५५ लाख ८ हजार अर्थात् १३.७३ प्रतिशत, राजश्व बाँडफाँटबाट २२ करोड ५८ लाख अर्थात् २१.३१ प्रतिशत, संघ सरकार अन्तरसरकारी हस्तान्तरणबाट ४५ करोड ८७ लाख ९६ हजार अर्थात् ४३.३० प्रतिशत, प्रदेश सरकार अन्तरसरकारी हस्तान्तरणबाट ६ करोड ९१ लाख २१ हजार अर्थात् ६.५२ प्रतिशत, अन्य कार्यक्रम तथा परियोजनाबाट १५ करोड ३ लाख अर्थात् १४.१९ प्रतिशत र जनसहभागिताबाट १ करोड अर्थात् ०.९४ प्रतिशत प्राप्त हुने अनुमान गरिएको छ । नगरको समग्र बजेट र कार्यक्रम नागरिकहरुलाई स्वावलम्बन र आत्मनिर्भर बन्ने तर्फ केन्द्रित गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।
आर्थिक बर्ष २०७९–२०८० को यथार्थ आय तर्फ ८५ करोड ६१ लाख २३ हजार ५ सय ५ रुपियाँ आम्दानी भएकोमा चालू खर्च ४६ करोड ७६ लाख ८२ हजार ३ सय ८१ रुपैयाँ, पुँजीगत खर्च ३५ करोड ३५ लाख २७ हजार ४ सय रुपियाँ र वित्तीय व्यवस्थापन खर्च ९७ लाख ३६ हजार समेत गरी जम्मा ८३ करोड ९ लाख ४५ हजार ७ सय ८१ रुपियाँ खर्च भई ९६.१४ प्रतिशत प्रगति भएको बताइएको छ ।
चालू आर्थिक वर्ष २०८०–२०८१ मा विनियोजित १ अर्ब १५ करोड १५ लाख अनुमान गरिएकोमा २०८० माघ मसान्तसम्म ५३ करोड ६१ लाख २२ हजार ६ सय १० रुपैयाँ खुद आम्दानी भएकोमा सोही अवधिमा चालू खर्च २८ करोड ६९ लाख १ सय ४९ रुपैयाँ र पुँजीगत खर्च ४ करोड ८९ लाख ४५ हजार ५ सय र वित्तीय व्यवस्थापन खर्च २० लाख गरी ३३ करोड ७८ लाख ४५ हजार ६ सय ४९ रुपैयाँ अर्थात् ६३.०१ प्रतिशत प्रगति भएको जानकारी गराइएको छ ।
एक वडा एक डिजिटल विद्यालय विकास गरिने, परियोजना र प्रयोगात्मक मूल्याङ्कनका लागि एक विद्यालय एक सार्वजनिक स्थल संरक्षण कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यस्तै चालु आर्थिक वर्षमा धुलिखेल नगरपालिकामा ७ हजार ३ सय ४२ घरधुरीमा ब्यवस्थित खानेपानी सुविधा पुगेको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो । सुचिकृत बेरोजगारहरुलाई रोजगारी प्रदान गरिएको, लम्पी राहत कार्यक्रम अन्तर्गत मृत्यु भएका ३९१ पशु मध्ये बिमा गरेका पशु बाहेक २ सय ४३ वटालाइ १० हजारका दरले २४ लाख ३९ हजार रुपैयाँ किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
