पनौती नगरपालिकाको १५ औं नगर अधिवेशन मार्फत १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको जानकारी प्राप्त भएको छ । आइतबार नगर प्रमुख रामशरण भण्डारीले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै १ अर्ब ६० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
पनौती नगरपालिका क्षेत्रभित्र संचालित रोडा, ढुंगा उद्योग क्षेत्र विशेष गरी वडा नम्बर २ र १२ का स्थानीय नागरिकको हित, प्रोत्साहन र स्वास्थ्य सुविधाका लागि नगरपालिकाको ५० प्रतिशत खर्च सहभागीतामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै हाम्रो नगर धुलो रहित शहरलाई मुर्तरुप प्रदान गर्नका लागि मिनि बुमर खरिद गरिने बताईएको छ । प्रत्येक वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुर्याइने, पनौती नगर क्षेत्र भित्रका व्यक्तिगत भवनहरुले पुरातत्व विभागबाट तोकिएको मापदण्ड बमोजिम हुनेगरी भवनको अग्र भागमा रंगरोगन गरेमा प्राविधिक प्रतिवेदन बमोजिम हुन आउने कुल खर्चको ४० प्रतिशत नबढ्नेगरी प्रतिघर अधिकतम ५० हजारका दरले उपलब्ध गराइने नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्रका जटिल रोगबाट प्रभावित व्यक्ति, सुत्केरी,जेष्ठ नागरिक र दलितको सेवा सुविधाका लागि निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ । नगर सभामा उप प्रमुख गिता बन्जारा ,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने लगायत नगरसभा सदस्य, विभिन्न शाखा प्रमुख हरुको उपस्थिती रहेको थियो ।
