IMG-LOGO

ऐतिहासिक पनौती जात्रा रथ जुधाई मनाईन्छ

 मंगल, असार १२, २०८१  ---

     ऐतिहासिक पनौती जात्रामा शनिबार रथ जुधाइएको छ ।  एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको पनौती जात्रामा शनिबार रथ जुधाइएको हो । पनौती जात्रा विधिगत रुपमा नौ दिनसम्म चल्ने गर्दछ। जेष्ठ शुक्लपक्ष द्धवादशीदेखि जेष्ठ पुर्णिमाको रात रहुन्जेलसम्म जात्रा मनाइन्छ ।

     जेष्ठ पुर्णिमाको जात्रालाई पनौती जात्रा भन्ने गरिन्छ । यो जात्रालाई ज्याःपुन्हि पनि भन्ने गरिन्छ । पनौती जात्राको समयमा पनौतीवासी खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो । जेठ असारमा खेतमा रोपाइँको काम चलिरहेको हुन्छ । किसानको लागि बेफुर्सदिलो अर्थात काम (ज्या) को समय पर्ने जात्रा भएकाले यो जात्रालाई ज्या पुन्ही जात्रा भनिएको हुनसक्छ ।

     पनौती जात्रामा कोशीपारी , रोशीपारी र डाँडापारी क्षेत्रबाट चिउरी, केरा, बेच्न आउने मानिसहरु पनि थुप्रै हुन्छन् । त्यसैले यो जात्रालाई चिउरी जात्रा पनि भन्ने गर्दछन् । यो जात्राले वर्षायामको संकेत पनि गर्दछ । जेठ असारमा अधिक वर्षा हुने गर्दछ, वर्षाका कारण सबैतिर हिलाम्मे हुँदा मनाइने भएकाले यो जात्रालाई हिले जात्रा समेत भन्ने गरिन्छ ।

     पनौती जात्रालाई घुम जात्रा पनि भनिन्छ । यो जात्रामा घुमको व्यापार अत्याधिक हुने गर्दथ्यो । अहिले फाट्टफुट्ट मात्र कारोबार भएको देखिन्छ । वर्षाको समयमा खेतमा काम गर्न अथवा घरबाट बाहिर कतै निस्किन घुमको आवश्यकता पर्दथ्यो । त्यसैले जात्राको समयमा घुम बेच्ने र किन्नेको घुँइँचो लाग्दथ्यो ।

     पनौतीमा मनाइने धेरै जात्राहरु मध्ये पनौती जात्राको विशेष खालको महत्व रहेको छ । यो जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रम्ह्मायणी देवीसँग सम्बन्धित रहेको छ ।

     “जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन” भन्ने भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत मान्यता रहँदै आएको छ । जेष्ठ शुक्लपक्ष द्धवादशीदेखि पुर्णिमाको रात रहुन्जेल जात्रा मनाइन्छ । जात्रा अविधिभर र चार दिनदेखि पनौतीमा हावाहुरी चल्ने, वर्षा हुने जनविश्वास छ ।

पनौती जात्राको धार्मिक र साँस्कृतीक महत्व

     किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए। त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिदै आइएको स्थानीय बताउँछन् ।

     ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई बास तेर्स्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठूलो जात्राका रुपमा लिइन्छ । जात्राअन्तर्गत त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ ।

     साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशमूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र ईन्द्रेश्वरका तीन रथको भागदौडसँगै यौन क्रियाकलापमा रुमाउँदै एकापसमा जुधाउने काम हुन्छ । पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन्, तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन्। भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अविरजात्रा पनि हुन्छ ।

     लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् अनि, थाक्दैनन् पनि ।

     रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिन्थ्यो । काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको पनि छ । देवतारुपी रथलाई केही वर्षदेखि दिउँसो जुधाउने गरिएको छ।

     विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य आचाजूहरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

     जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ।  जात्रामा चिउरी चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । जात्रा अवधिभर पाहुना बोलाइ स्वागत सत्कारका साथ भोज गरिने भएकाले प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम छ ।  जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्