धुलिखेल अस्पतालमा थप गरिएका एवं स्तरोन्नती गरीएका सेवा सुविधाका बारेमा अस्पताल प्रशासनले सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सोमबार सम्पन्न गरेको छ । उक्त अवसरमा अस्पतालका प्रमुख प्रा. डा रामकण्ठ माकजुले सहज, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु दत्तचित्तका साथ लागि परेकोले सबैको साथ र सहयोग अपरिहार्य हुने बताउनुभयोे । उक्त अवसरमा सम्पूर्ण विभागिय प्रमुखहरुले विभाग अन्तरगत थप गरिएका सेवा सुविधाका बारेमा आ आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । यहि क्रममा नाक, कान घाँटी विभागका ईएनटी विशेषज्ञ प्रा.डा.विकासलाल श्रेष्ठले विभाग अन्तर्गत कानसम्बन्धी नवजात शिशुलाई अस्तालबाट डिस्चार्ज गर्नु अगाडी हियरिङ स्क्रिनिङ, कान कम सुन्ने सेवाग्रहीहरुका लागि आवश्यक हियरिङ एडसम्बन्धी सम्पूर्ण सेवा दिईंदै आएको छ भने निकट भविष्यमा ‘कक्लियर ईम्प्लान्ट (कान नसुन्नेहरुका लागि प्रविधीजन्य जडान)’ सेवा शुरु गर्न लागिएकोे जानकारी दिनुभयो । स्त्रीरोग विभागका विशेषज्ञ डा. रुपेश सिंह बस्न्यातले बाँझोपनको समस्या भएका मध्येलाई फाईदा पुग्ने गरी आईयूआई (ईन्ट्रायुटेराईन ईन्सेमिनेसन) सेवा पुनः सुचारु गरिएको र टेष्टट्युब बेबीभन्दा निकै कम खर्च र कम झन्झटमै गर्न सकिने उक्त प्रविधीबाट काभ्रे जिल्ला आसपासका सेवाग्रहीहरु लाभान्वित हुने लक्ष्य राखिएको बताउनुभयो । एनेस्थेसिया विशेषज्ञ डा. समिर शाक्यले तीन महिनाभन्दा लामो समयसम्मको मानव शरीरको दुखाईलाई दीर्घकालीन अर्थात् जीर्णखालको दुखाईको कोटामा राखिने र धुलिखेल अस्पतालमा दीर्घकालीन दुखाई प्रताडितहरुका लागि ‘डेकेयर पेन क्लिनिक’ संचालनमा ल्याएको उल्लेख गर्नुभयो । डेन्टल विभागका सर्जन प्रा.डा दशरथ काफ्लेले विभाग अन्तर्गत मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थालनी सँगै दन्तसम्बन्धी उपचार शुरु भएकोले विगतमा नाङ्गो आँखा, शारीरिक परीक्षण एवं एक्सरे, सीटी स्क्यानमा भर परेर पु¥याउँदै आएको सेवामा मेडिकल थ्रीडी प्रिन्टिङको नौलो प्रविधीसँगै मानव शरीरभित्रको प्रभावित भागको ठ्याक्कै प्रतिलिपी उतार गरेर उपचार सेवा प्रदान गरिने जानकारी दिनुभयो । बायोकेमेष्ट्री एक्स्पर्ट डा. ज्योती श्रेष्ठले धुलिखेल अस्पतालको ल्याब परीक्षण अन्तर्गत हेमाटोलोजी, माइक्रोबायोलोजी, बायोकेमेष्ट्री परीक्षणमा निकै अत्याधुनिक सेवाहरु थप गरिएको बताउनुभयो । त्यसैगरी प्रा.डा.बलराम मल्लले धुलिखेल अस्पतालमा नियमित रुपमा अन्कोलोजी सेवा संचालन भैरहेको जानकारी दिनुहँदै अन्कोलोजी सेवा अन्तर्गत कतिपय क्यान्सर रोगीहरुका लागि आवश्यक केमोथेरापी शल्यक्रियापूर्व एवं शल्यक्रिया पश्चात् पनि यसै अस्पतालमा दिईंदै आएको उल्लेख गर्नुभयो । त्यस्तै, धुलिखेल अस्पतालमा क्यान्सरको आशंका गरिएका विरामीको अपरेशनको बीचमै मासु जाँच गरेर क्यान्सर रोग निदान गर्ने प्रविधि (फ्रोजन सेक्सन) उपलब्ध छ । क्यान्सर रोगीहरुका लागि आवश्यक शल्यक्रिया, फिजियोथेरापी, नर्सिङ्ग सेवा, परामर्श सेवा उपलब्ध गराईएकोे जानकारी दिनुभयो । अस्पतालका प्रवक्ता प्रा.डा. सुमन ताम्राकारले ल्याब टेष्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, अस्पताल परिसरमा विरामीमैत्री पार्किङको व्यवस्थापन, प्लाष्टिक फ्रि वातावरण, इमर्जेन्सीका विरामीका लागि फास्ट ट्रयाक सेवाको व्यवस्था गरिएको जानकारी दिनुभयो । अस्पताल परिवारले अझै सेवालाई सहज र सरल बनाउँदै लैजाने प्रतिवद्धता समेत उहाँले ब्यक्त गर्नुभयो । अस्पतालमा एचडीयू (आईसीयू भन्दा एक तहमुनिको हाई डेपेन्डेन्सी युनिट) अन्तर्गत बेडसंख्यामा वृद्धिका साथै गुणस्तरीयताका लागि आवश्यक स्तरीकरण गरिएको छ । यसैबीच, जन्मजात ओठ तथा तालु चिरीएको अथवा फाटिएको, गिजामा प्वाल परेको बिरामीका लागि निःशुल्क शल्यक्रिया तथा सम्पूर्ण उपचारको व्यवस्था मिलाईएको डा. दिलिप प्रजापतिले जानकारी दिनुभएको छ ।
