भविष्यका लागि आधार परियोजना समापन भएको छ । सिविक फोरमले फाउण्डेशन फर फ्युचर मार्फत काभे्रको चौरीदेउराली गाउँपालिकामा खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धनमा काम गर्दै आएको परियोजनाको शुक्रबार धुलिखेलमा एक कार्यक्रमका बिच समापन गरिएको हो । प्रमुख अतिथी चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले गाउँपालिका भित्र रहेका सबै विद्यालयहरुमा तीन तारा घोषणा गर्ने गरी आगामी वर्षको बजेटबाट रकम विनियोजन गर्ने र सोहि अनुसारका कार्यक्रमलाई केन्द्रित गर्ने बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले बालबालिकाहरुका लागि खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम प्रभावकारी मात्रै नभई आवश्यक भएकाले सिविक फोरमले वाटर एडको आर्थिक सहयोगमा संचालन गरेको कार्यक्रमको निरन्तरताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले स्थानीय सरकारसँगको समन्वयमा भएका काम सहज र सरल भएको बताउँदै आगामी दिनमा पनि गाउँपालिकासँगको समन्वयमा आवश्यकता अनुसारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । भविष्यका लागि आधार परियोजना प्रमुख सान्त्वना कार्कीले परियोजना अघि, परियोजना पछि र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वाटर एड नेपालका कन्ट्रि डाईरेक्टर सुर्दशन न्यौपाने, वडा अध्यक्षहरु, विभिन्न संघ संस्था तथा कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम समापनमा बुद्ध हिमालय माविका प्रधानाध्यापक राजु चौलागाई, शिक्षा शाखा प्रमुख कालिप्रसाद पाण्डे, संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवर, सचिव सिताकुमारी तामाङ, परियोजना प्रमुख सान्त्वना शर्मा लगायतले परियोजनाका अनुभव, परियोजनाले पारेको प्रभाव र आगामी दिनमा गर्नु पर्ने जिम्मेवारी र चुनौतीका बारेमा धारणा राख्नुभयो भने सो अवसरमा विद्यालयहरु र संघ संस्थालाई प्रशंशापत्र प्रदान गरिएको थियो । सिविक फोरमको साझेदारी र वाटर एडको सहयोगमा गाउँपालिकामा खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धनका लागि फाउण्डेशन फर फ्युचर परियोजना सञ्चालित रहेको छ । सिविक फोरमका अध्यक्ष दयासागर लामाको अध्यक्षतमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
