कोरोना भाइरस कोभिड-१९ दोश्रो भेरियन्ट रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ पाँचखाल नगरपालिका र भुम्लु गउँपालिकाले संयुक्त रुपमा आइसोलेसन कक्ष स्थापना गर्ने भएका छन् । कोरोना संक्रमित हुने नगर र गाउँपालिकाहरुको उचित व्यवस्थपन र उपचारका लागि संयूक्त आइसोलेसन कक्ष स्थापना गर्न लागिएको पाँचखाल नगरका प्रमुख महेश खरेलले जानकारी दिनु भयो । पाँचखाल नगर र भुम्लु गाउँपालिकाको मध्य विन्दु आसपासको क्षेत्र पाँचखाल वडा नं ३ समाज कल्याण प्राविको भवन परिसरमा अक्सिजन जडान सहित ५० वेड कक्षको आइसोलेसन कक्ष स्थापना गरिने भुम्लु गाँउपालिकाका अध्यक्ष गुमान ध्वज कुँवरले बताउनु भयो । पूर्वाधार व्यवस्थापन आवश्यक भौतिक पूर्वाधार आइसोलेसन वेड, स्वाव संकलन बुथ, स्नान गृह, हात धुने स्थल, शौचालय लगायतको अस्थायी रुपमा निर्माण गर्ने प्राविधिक लागत अनुमान तयार गरी दुबै पालिकाले खर्च आधा आधा वेहोर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको उचित प्रवन्ध समानुपातिक ढङ्गले दुबै पालिकाले गर्ने गरी सहमति पत्रमा उल्येख गरेको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइ, उपसचिव आर्थिक प्रशासन विदुर कुमार धिमाल, स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारी त्यस्तै गरी भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत ढाकराम अर्याल, लेखा अधिकृत सूर्य प्रसाद त्रीपाठी र स्वास्थ्य शाखा प्रमुख शुदर्सन भट्टराईले संयूक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ । आइसोलेसनमा आवश्यक पर्ने एक्स-रे मेशिन भुम्लु गाउँपालिकाले खरिद गर्ने, प्राविधिक पक्ष रेडियो ग्राफर पाँचखाल नगरपालिकाले व्यवस्था गर्ने भएको छ । त्यसै गरी पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलले आफूले चढ्दै आउनु भएको निजि गाडी, उपप्रमुख लक्ष्मी दनुवार र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा कोभिड-१९ संक्रमित नागरिकहरुलाई उपचार गर्न सहजता प्रदान गर्न दिने गरी आइतबार घोषणा गरेका हु्न् ।
