बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले समुदाय स्तरमा वातावरण बचाउ सम्बन्धि जनचेतना फैल्याउन आवश्यक रहेको बताउनुभएको छ । स्थानीय जलवायु परिवर्तन अनुकुलन योजना निर्माणका लागि बनेपा नगरपालिका र बहु सरोकार मञ्च बीच आगामी बजेट तथा नीति निर्माण सम्बन्धि छलफल कार्यक्रमलाई शुक्रबार बनेपामा सम्बोधन गर्दै उहाँले पूण्यमाता र आसपास खोला सरसफाई कार्यक्रमलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुभयो । निश्चित समयमा फोहोर संकलन गर्ने सवारीसाधन नागरिकको घरदैलोमा पुग्ने भएपनि फोहोर गाडीमा नहाली खोलामा लगेर फाल्ने गरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । आगामी बजेट तथा नीति निर्माणमा स्थानीय जलवायु परिवर्तन अनुकुलन योजना निर्माण र वातावरण संरक्षणका लागि आवश्यक बजेट छुट्याउन पहल गरिने नगरप्रमुख शाक्य र उप प्रमुख बिमला सापकोटा दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं ३ का वडाध्यक्ष रमेश दाहाल, वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारी, वडा नं ६ का वडाध्यक्ष सचितानन्द के.सी, वडा नं ७ का वडाध्यक्ष हिटलर शाक्य, वडा नं ८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नं १० का वडाध्यक्ष चन्द्र बहादुर खड्का, कार्यपालिका सदस्य ज्योति बोगटी, नगरका प्रशासकिय अधिकृत ध्रुवराज नेपाल लगायत बहुसरोकार मञ्चका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा पूण्यमाता डुवानको अवस्था, असर र समाधानको विषयमा महिला जागरण समुहकी अध्यक्ष निर्मला श्रेष्ठले ध्यानाकर्षण पत्र नगरप्रमुख समक्ष प्रस्तुत गर्नुभएको थियो । भवानी श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकृति रिसोर्सेस सेन्टरका निर्देशक प्रविन मान सिंले वातावरण प्रदुषण, जलवायु परिवर्तनको अवस्था र रणनीतिका विषयमा जानकारी गराउनुभएको थियो ।
