धुलिखेल नगरपालिका वडा नं ८ बडालगाउँको नाकेडाँडा बाटोमाथिको खोल्सोबाट शनिबार करिब २ बजे आगोलागी हुँदा करिब ३ सय मिटर खानेपानीको पाइप जलेर नष्ट भएको छ । पाँचखाल इलाका चौकीका प्रहरी र स्थानीयहरुको सहयोगमा आगो निभाउने कार्य भएको स्थानीय नवराज बडालले जानकारी दिनुभयो । नाकेडाँडा र तल्लोबारीका २५ घर धुरीका नागरिकहरुले उपभोग गर्दै आएको खानेपानी ठूल्ढुङ्गे बडालगाउँ खानेपानी उपभोक्ता समितिको पहल र धुलिखेल वडा नं ८को सिफरीसमा तत्काल उक्त क्षेत्रमा करिब २ सय मिटर पोलिथिन पाइप धुलिखेल नगरपालिकाले उपलब्ध गराएको स्थानीयले बताएका छन् । स्थानीयहरुको सक्रियताले आगो निभाउने कार्य भएकाले अरु थप जनधनको क्षति भने हुन पाएन । नाकेडाँडा वरीपरीको करीब ७० रोपनी वनक्षेत्रको जग्गामा भएको बोट बिरुवा, साल, सल्लो, उत्तीस, कटुजका रुखहरु जलेर नष्ट भएको कुरा स्थानीय रमेश प्रसाद बडालले बताउनुभयो ।
