बनेपा नगरपालिका र प्रदेश मन्त्रालय बीच बनेपा नगरपालिकाको वडा नम्बर ६ स्थित बुडोल कम्प्लेक्स भवनमा यातायात ब्यवस्था काभ्रेपलाञ्चोकको कार्यालय राख्ने गरी यातायात कार्यालय राख्न भवन दिने विषयमा सम्झौता भएको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा बनेपा नगर सभाहलमा एक कार्यक्रमको बिचमा गरी सम्झौता भएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले भवन उपभोग सम्बन्धि सम्झौता पत्र आदानप्रदान गर्नुभएको थियो । नगर कार्यपालिकाबाट उक्त भवनको दुई तल्ला यातायात ब्यवस्था कार्यालय काभ्रेपलाञ्चोकलाई उपभोग गर्न दिने निर्णय भएको छ । उक्त कार्यालयबाट काभ्रेको मात्रै नभएर काठमाण्डौं पूर्वका पाँच जिल्लाहरु सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली जिल्लाका नगरिकलाई यातायात सेवामा सहजता प्रदान गर्नेछ । अबको एक महिनाभित्रमा यातायात सेवा कार्यालयबाट सेवा प्रदान सुरु गर्ने सम्झौतामा जनाएको छ । सवारी जाँचपासको सेवासहित विस्तारै सवारी दर्ता, सवारी चालक अनुमतिपत्र लिने र नामसारी गर्ने लगायतका सेवा कार्यालयबाट हुने व्यवस्था मिलाउदै जाने निर्णय मन्त्रालयले गरेको सम्झौतामा उल्लेख छ । मन्त्रालय र नगरपालिका बाच भएको सम्झौता सपिङ कम्प्लेसको भवन दश वर्षको लागि निशुल्क उपलब्ध गराउने सहमति उल्लेख गरिएको छ ।
