बनेपा नगरपालिकाले स्थानीय हाटबजारको सुरुवात गरेको छ । स्थानीय उत्पादन उपभोग गरौं, स्थानीय उत्पादन बढाऔं, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔं भन्ने मुल नाराका साथ नगरपालिकाले हाटबजारको शुभारम्भ गरेको हो । हाटबजार हप्ताको प्रत्येक शुक्रबार लायकु मञ्चमा लाग्ने बताइएको छ । उपभोक्ता र किसानको दुरी हटाउन नगरपालिकाले हाटबजारको स्थापना गरेको नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । आउँदो हप्तादिनहरुमा हाटबजारले लय लिने र उपभोक्ता तथा किसानको घुँईचो लाग्ने प्रमुख शाक्यको विश्वास रहेको छ । हाटबजारमा स्थानीय तरकारी तथा फलफुलहरु, दुग्धजन्य उपजहरु, तितौरा, स्थानीय स्तरमा तेल, ढाकाको कपडा, लगायत सरसामान प्रदर्शन गरिएको थियो । गत शुक्रबार हाटबजारको पहिलो दिनमा नगरप्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख बिमला सापकोटा दाहाल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, काभे्र प्रहरी प्रमुख बसुन्धारा खड्का, बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई लगायतले अवलोकन गर्नुभएको थियो ।
