बनेपा÷बनेपा नगरपालिकाको ४३ औ स्थापना दिवसभ भव्यताका साथ मनाईएको छ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले स्थापना दिवसको औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले गरिरहेका विविध कार्यहरुका बारेमा जानकारी गराउँदै नागरिकहरुका आधारभुत आवश्यकताहरु पुरा गर्न जनप्रतिनिधिहरु निरन्तर शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, कृषि तथा पशुपालनका सवालमा अनुभुति हुने गरी कार्य भईरहेको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । नगरमा निर्माण भईरहेका गौरवका आयोजनाहरु काभ्रे भ्याली एकिकृत खानेपानी, राजमार्ग विस्तारका क्रममा ढल तथा खानेपानीको विस्तार, अन्य पूर्वाधारहरु निर्माणमा सहजिकरणका लागि मन्त्री राई लगायत जिल्लाका सांसदहरुलाई नगर प्रमुख शाक्यले अनुरोधगर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राईले बनेपा नगरपालिकाले शुरु गरेका आयोजनाहरुको निरन्तरताका लागि आवश्यक पर्ने बजेट ब्यवस्थापन तथा आगामी वर्षको बजेटमा नयाँ योजनामा समन्वय र सहिजकरण गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयोे । कार्यक्रममा पुर्व मन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाले बनेपामा करिडोर, फिल्म सिटी, विश्वविद्यालय निर्माणले गति लिनु पर्ने बताए । काभ्रे भ्याली एकिकृत खानेपानीको कार्य सम्पन्न हुनुपर्नेमा निर्माण ब्यवसायीले अटेर गरेर मुद्दा राखेको, लगानीकर्ता एडिबी भागेको, सरकारले हात झिकेको बताउँदै पुर्व मन्त्री बास्कोटाले शहरी विकास मन्त्री भएका बखत आफ्नो तर्फबाट पर्याप्त बजेट विनियोजन भए पनि खर्च गर्न नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पुर्व राज्य मन्त्री कञ्चनचन्द्र बादे, कार्यक्रममा प्रदेश मन्त्री लक्ष्मण लम्साल, प्रदेश सदस्य रुकु चौलागाई, जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, अधिकृत धुर्व नेपाल लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उपप्रमुख विमला सापकोटाले बनेपाका १४ वटै वडामा क्रमात्मक रुपमा विकासमा तिव्रता दिइएको बताउनुभयो । कार्यक्रममा दीर्घ सेवा कर्मचारी सम्मान तथा अन्य क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकाले तयार गरेको बनेपा बुलेटिनको विमोचन गरिएको थियो ।
