काभे्र कराँते एकेडेमीको आयोजनामा चैत्र २ र ३ गते बनेपामा मेयरकप सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजना तथा बनेपा नगरपालिकाको आर्थिक सहयोगमा बनेपाको लायकु मञ्चमा प्रतियोगिता सञ्चालन हुने गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ हुने प्रतियोगितामा काभ्रे जिल्लाभरीका करिव २५० देखी ३ सय जनासम्म खेलाडी सहभागी हुने आयोजकले अनुमान गरेको छ । खेलाडीहरुले २१ वटा इभेन्टमा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धरले जानकारी दिनुभयो । एकेडेमीले प्रत्येक वर्ष कराँते प्रतियोगिता आयोजना गरी खेलाडीहरुलाई प्रतिभा देखाउने अवसर प्रदान गर्दै आइरहेको छ । यस्तै एकेडेमीले दक्ष प्रक्षिकबाट प्रशिक्षण, तालिम गोष्ठी लगायतका कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको जनाएको छ । खेलको माध्यमबाट युवाहरुलाई कुलत र दु्व्र्यसनबाट टाढा राखी सामाजिक उत्तरदायित्व बोध गराउने, नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर राखी अन्तराष्ट्रिय जगतमा राष्ट्रको नाम राख्न प्रेरित गर्दै काभ्रे जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिष्य स्तरका खेलाडी तथा रेफ्रीहरु उत्पादन गर्ने एकेडेमीको उद्देश्य रहेको नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ काभ्रेका अध्यक्ष तथा प्रतियोगिताका प्रचारप्रसार संयोजक नवराज मानन्धरले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि ९ लाख १३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, काभ्रे कराँते महासंघका अध्यक्ष प्रताप वैद्य, काभ्रे कराँते एकेडेमीका निवर्तमान अध्यक्ष कुवेर मानन्धर,नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ काभ्रेका अध्यक्ष तथा प्रतियोगिताका प्रचारप्रसार संयोजक नवराज मानन्धर जिल्लाका कृयाशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
