सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत रहँदा विदेशी नागरिकलाई नागरिकता दिने अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरिएको हो । अर्यालमाथि काभ्रेमा रहँदा दुई चिनियाँ नागरिक दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ । उनीहरु अहिले सुन तस्करीको आरोपमा थुनामा रहेका छन् ।
उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाछिरीङ वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । निज अर्याललाई बागमती प्रदेश सभा सचिवालय हेटौंडा मकवानपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेद्वारा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी काभ्रे धुलिखेलका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
